ट्रेन्डीङ्ग

सनकको भरमा ओलीले स‌ंसद बिघटन गरे

बुटवल,पुस
प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको अस‌ंवैधानिक कदमले मुलुक र लोकतन्त्र नै धरापमा पारेको सरोकारवालाले चिन्ता ब्यक्त गरेका छन् । उनीहरुले संविधान विपरित सनकको भरमा ओलीले स‌ंसद बिघटन गरेको आरोप लगाए ।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले सोमबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक सन्तोषकुमार पाण्डेयले सरकार र राष्ट्रिपतिको कदम असंवैधानिक भएको जिकिर गरे ।

प्रधानमन्त्रीले तानाशाही प्रवृत्ति देखाएको आरोप लगाउँदै उनले केन्द्रीय राजनीतिबाट प्रदेशमा पर्ने प्रभावहरुका बारेमा चिन्ता नगर्न आग्रह गर्दै प्रदेशको नेतृत्वका लागि अन्य दल तयार र सक्षम रहेको दाबी गरे ।

उनले अव नेपाली राजनीतिमा ओलीजस्तो भष्माशुरको कहिलेपनि जन्म नहोस् भन्ने टीप्पणी गरे ।सत्तारुढ दल नेकपाका लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले आगामी वैशाखमा निर्वाचन हुनै नसक्ने बताएका छन् । वर्तमान अवस्थामा मुलुकलाई निर्वाचनमा लैजान सक्ने अवस्था नरहेको बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विगटन गर्नु पार्टीमात्रै नभइ मुलुककै बर्बादी भएको बताए । प्रधानमन्त्रीको इतिहासकै ठूलो भूल गरेको उनले उल्लेख गरे ।

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ कलवारले विश्वव्यापी कोरोना महामारीका बेला सरकारले चालेको कदम अलोकतान्त्रिक र तानाशाही भएको उल्लेख गरे ।ओलीको कदमले मुलुक र लोकतन्त्र धरापमा परेको बताउँदै उनले संसद विगटन गर्नु असंवैधानिक भएको बताए ।

नेकपाकै अर्का सांसद तुलाराम घर्तिले केन्द्रीय राजनीतिमा देखा परेका घटनाहरुको तरङ्ग प्रदेशमा पनि देखिनु स्वाभाविक भएको बताए । केन्द्रको राजनीतिक समीकरणले प्रदेश सरकारको समीकरण पनि बदलिन सक्ने संकेत गर्दै उनले प्रधानमन्त्रीको कमदप्रति कडा शब्दमा निन्दा र आलोचना समेत गरे ।

प्रधानमन्त्रीको कदम र राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाका बारेमा छिटो सोचेर टुंगाउनुपर्ने बताए । अब क्षमा दिन नसकिने उनको तर्क छ ।मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले प्रधानमन्त्रीले पहिलेदेखि नै अधिनायकवादी शैली अपनाउँदै आएको बताउँदै सन्किपनमा संसद विगटन गरेको आरोप लगाए ।

मुलुक कोभिड–१९ को मारमा परिरहेका बेला आगामी वैशाखमा हुने भनिएको निर्वाचनको परिकल्पना समेत गर्न नसकिने उनको भनाइ छ । प्रधानमन्त्रीको स्वइच्छाचारीता र दमनकारी नीतिका कारण मुलुक ठूलो दुर्घटनामा जाने संकेत गरेको उनले बताए ।

यसैगरी नेपाल बार काउन्सिलका केन्द्रिय पार्षद बाबुराम पाण्डेले अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्न कुनै अधिकार नदिएको बताए ।

उनले संविधानको खिल्ली उडाउनु दुर्भाग्यपूर्ण रहेको बताए । प्रधानमन्त्री र राष्ट्रिपतिले चालेका गलत कदमलाई सम्मानीत सर्वोच्च अदालतले रोक्ने आशारहेको बताए ।

क्लवका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव कपिल ज्ञवालीले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal