ट्रेन्डीङ्ग

फौदीखोलामा मोटरेबल पुलको शिलान्यास

तोलाकान्त बगाले,वालिङ, १४ मङ्सिर ।स्याङ्जाको वालिङ १२ स्थित फौदीखोलामा मोटरेबल पुलको आज शिलान्यास गरिएको छ।वालिङ नगरपालिकाकोतर्फबाट पहिलो चरणमा रु. १५ लाखको लागतमा पुलको निर्माण कार्य थालिएको हो।पुलको आज वालिङ नगर प्रमुख दिलीपप्रताप खाँण, स्थानीय ज्येष्ठ नागरिकहरु ९९ वर्षीया देउरुपा पराजुली र ९८ वर्षीया रेनुका पराजुलीले संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो ।

विशेष गरी वर्षायाममा सवारी साधानहरु उक्त खोला पार गर्न समस्या भएकाले मोटरेबल पुलको निर्माण कार्य थालिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

“गाउँलाई शहरसँग र शहरलाई गाउँसँग जोड्ने यस क्षेत्रको महत्वपूणर् सडककोरुपमा यसलाई अगाडि सारेका छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “पुलको निर्माणसँगै गाउँमा उत्पादन भएका कृषि तथा पशुजन्य उत्पादनहरु बजारसम्म पुर्‍याउन र गाउँमा आवश्यक पर्ने सामग्रीहरु गाउँमा पुर्‍याउन सहज हुने छ ।”

निर्वाचित भएर आएसँगै यहाँको मुख्य समस्याकोरुपमा रहेको फौदीखोलामा पुल निर्माण गर्ने कार्यका लागि पटक पटक मन्त्रालयमा प्रयास भएपनि योजना प्राप्त नभएकाले नगरपालिका मार्फत निर्माण कार्य थालिएको वडा नं. १२ का वडा अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो ।

“पुलको डिपिआर गरेर मन्त्रालयमा फाईल पठायौं तर सुनुवाई भएन” वडा अध्यक्ष गुरुङले भन्नुभयो,“सुनुवाई नभएपछि नगरपालिकाकै पहलमा योजना अगाडि बढायौं र शिलान्यास गरेर काम थालिसकेका छौं ।”

पुल नहुँदा उक्त खोला वारपार गर्नुपर्ने भएकाले धेरै पटक मोटरसाईकल तथा स्कुटरहरु बगाउँदा मानिसहरु घाईते समेत भएका थिए । खोलामा बाढी आएको बेला सवारी साधनहरु वारपार गर्न नसक्ने भएकाले धेरै समय वारीपारी नै रोकिनुपर्ने बाध्यता रहेको थियो । पुल निर्माणसँगै स्थानीयलाई सहजता हुने भएपछि स्थानीयहरु हर्षित छन् ।

वालिङ १३ को बायँटारी बजारदेखि वडा नं. १२ लाई सडक सञ्जालसँग जोड्न वालिङ १२ र १४ को सीमामा रहेको फौदीखोलामा आवतजावतमा सहज पहुँच पुर्‍याउन खोलामा पक्की पुलको शिलान्यास गरिएको हो । पुल आगामी दुई महिनाभित्रैमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको ईञ्जिनियर ध्रुब रेग्मीले जानकारी दिनुभयो । नगरपालिकाको पहिलो चरणमा रु. १५ लाख र दोस्रो चरणमा पुलको तटबन्धन तथा सुरक्षाकालागि थप रु. ५ लाख गरी कूल रु. २० लाखको लागतमा निर्माण सम्पन्न हुने भएको हो । पुलको लम्बाई र चौडाई ६/६ मिटर रहने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?