ट्रेन्डीङ्ग

गल्याङको मालुङ्गामा सिलाई कटाई र पार्लर तालिम समापन तथा प्रविधि हस्तान्तरण

कार्तिक १६ गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका १ मालुङ्गामा सिलाई कटाई र पार्लर तालिम समापन तथा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।गएको साउन ४ गते सुरु भएको तालिमको आज मंगलबार समापन गरिएको हो ।

तालिम समापनको अवसरमा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले स्वरोजगार र उद्यमी बन्नका लागि नगरपालिकाले सबै खालको सहयोग गर्ने प्रतिबद्वता जनाउनुभएको छ ।

उहाँले कुनै पनि तालिम लिए पछि त्यसको सदुपयोग हुनुपर्नेमा जोड दिदै यस तालिमबाट आत्मनिर्भर र उद्यमी बन्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नगरप्रमुख अधिकारीले भन्नुभयो-‘उद्यमी बनेर अगाडि बढ्नुस्, नगरपालिकाले बजारको ग्यारेण्टी गर्छ।’उहाँले महिलाहरुले तालिम लिएर आत्मनिर्भर बन्न सकेमा घरेलु हिंसा समेत कमी हुने बताउनुभयो।

बैंक तथा वित्तीय संस्थाले व्याजमा सस्तो गरी उद्यमीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिदै नगरप्रमुख अधिकारीले सस्तो ऋणका लागि पनि आफुले सबै सहयोग गर्ने प्रतिबद्वता जनाउनुभयो।महिला, असक्त र विपन्न परिवारका लागि आफु सधैं सहयोगी बनेको भन्दै उहाँले त्यसमा आवश्यकता अनुसार सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले तालिमको सही सदुपयोग गर्न आग्रह गर्नुभयो। उहाँले तालिम लिएर घरमा बसेमा सरकारको लगानी बालुवामा पानी बराबर हुने भन्दै यसलाई सही रुपमा सदुपयोग गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका गल्याङ नगरपालिका आर्थिक विकास शाखा सुशिल अर्यालले तालिम प्राप्त गर्नु नै अवसर भएको भन्दै यसलाई अब व्यवहारमा लैजान आग्रह गर्नुभयो।

कार्यक्रममा गल्याङ नगरपालिका १ का वडाअध्यक्ष तथा नगरप्रबक्ता गणेशप्रसाद बस्याल,वडा नम्बर २ का अध्यक्ष इबप्रसाद कर्माचार्य लगायतले बोल्नुभएको थियो।कार्यक्रमको सञ्चालन वडा नम्बर १ का सचिव मनिराम भट्टराईले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?