ट्रेन्डीङ्ग

अत्यावश्यक वस्तु खरिदबिक्रीमा सहजता र विपन्नलाइ राहतको व्यवस्था गर्न उपभोक्ता मञ्चको माग

जेठ १७ ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल पश्चिम नवलपरासी शाखाले अत्वाश्यक वस्तु तथा सेवाको खरिदबिक्री सहज बनाउन माग गरेको छ ।

निषेधाज्ञाका कारण प्रभावित अतिविपन्नलाई राहतको व्यवस्था गर्न पनि मञ्चले प्रमुख जिल्ला अधिकारी र जिल्लका सात वटै स्थानीय तहलाई ज्ञापनपत्र पठाउँदै ध्यानाकर्षण गराएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाका कारण खाद्यन्न, तरकारी, दुध लगायत अत्यावश्यक वस्तु तथा सेवाको खरिदबिक्रीमा अवरोध हुँदा उपभोक्ता मारमा परेको मञ्चले जनाएको छ ।

जेठ एक गते पछिको जारी निषेधाज्ञामा औषधी, ईन्धन र पानी बाहेकका कुनै पनि पसल खोल्न नदिँदा उपभोक्ताहरुलाई असहज स्थिति पैदा भएको मञ्चका केन्द्रिय सदस्य रामजी ज्ञवालीले बताउनुभयो ।

किसानले उत्पादन गरेका तरकारी तथा दुध विक्री गर्न नपाएर खेतमै नष्ट गर्नुपरेको अवस्था समेत भएकोले केही निश्चित समय दिएर खाद्यन्न,स्थानीय उत्पादनका तरकारी लगायत अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति र किनमेल कार्यलाई सहज बनाईदिन माग गरिएको मञ्चले जनाएको छ ।यसैगरी बैंक तथा वित्तीय संस्था बन्द रहँदा उपभोक्ता समस्यामा परेकोले बैंकहरु पनि निश्चित समय सञ्चालनको व्यवस्था मिलाउन माग गरिएको छ।

साथै लामो निषेधाज्ञाका कारण दैनिक ज्यालादारी गरी छाक टार्न बाध्य श्रमिक, मजदुर तथा अतिविपन्न वर्गलाई दैनिक जीवनयापनमा निकै समस्या भएको भन्दै मञ्चका जिल्ला सचिव मोहन पौडेलले विगत वर्षमा स्थानीय तहबाट राहत बाँडिएपनि यसपटक स्थानीय सरकारबाट त्यस किसिमका कुनै कार्यक्रम सञ्चालन नभएकोले अतिविपन्नको जीवनयापनमा सहज हुने व्यवस्था मिलाईदिन समेत ध्यानाकर्षण गरिएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?