ट्रेन्डीङ्ग

अखिल (क्रान्तिकारी)द्वारा ५० थान अक्सिजन सिलिण्डर हस्तान्तरण

जेठ ७ बुटवल । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिले कोभिड-१९ विरुद्ध विद्यार्थी अभियान अन्तर्गत रूपन्देही जिल्लास्थित लुम्बिनी प्रादेशिक अस्पताललाई शुक्रबार ५० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।

कार्यक्रममा नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विश्वास र अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समिति संयोजक विरेन्द्र विकले अस्पतालका मेसु डा. राजेन्द्र खनाललाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विश्वासले कोरोना भाइरसको यो महामारीमा वर्तमान राज्य व्यवस्थाले स्वास्थ्य क्षेत्रलाई सही तरिकाले परिचालन गर्न नसक्दा देशव्यापी रुपमा अस्पतालका कर्मचारी र बिरामीहरूमा विभिन्न समस्याहरू उत्पन्न भइरहेको बताए । उनले अस्पतालमा अक्सिजन अभावका कारण जनताले अकालमा ज्यान गुमाउन नपरोस् भनेर मानव जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको बताए ।

डा. राजेन्द्र खनालले कोभिड-१९ ले देशव्यापी रुपमा आक्रान्त र हैरानी पारिरहेको परिस्थितीमा अस्पतालमा बेड र अक्सिजनको अभावका कारण लाखौ जनताको ज्यान गएको बताए । उनले अस्पतालमा अक्सिजन अभाव भइरहेको र यस मानव सङ्कटको दुखद घडीमा जीवनप्रतिको दायित्वलाई सम्झेर अक्सिजन सिलिण्डर हस्तान्तरण गरेकोमा पार्टी र विद्यार्थी संगठनलाई आगामी कार्यक्रममा लागि शुभकामनासहित धन्यवाद प्रकट गरेका थिए ।

अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समिति संयोजक विरेन्द्र विकले कोरोना भाइरसको यो डरलाग्दो परिस्थितीमा शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा विभिन्न राजनीतिक दल पूणर् बफादार भई लाग्नुको साटो कुर्ची र सत्ता प्राप्तिको लागि लिप्त रहेको बताए । संयोजक विरेन्द्रले देशमा दलाल संसदीय व्यवस्था रहँदासम्म स्वास्थ्य लगायत यावत् क्षेत्रमा भ्रष्टाचार, दलालीकरण, व्यापारीकरण कायम रहने भन्दै यस प्रकारका सम्पूणर् समस्याहरूको पूणर् समाधानका लागि वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताए । उनले कोभिड-१९ विरुद्ध विद्यार्थी अभियान अन्तर्गत आफ्नो संगठले देशव्यापी रुपमा मास्क, सेनिटाइजर वितरण, जनस्वास्थ्यसम्बन्धि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरिरहेको र यसै सन्दर्भमा लुम्बिनी प्रादेशिक अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको बताए ।

कार्यक्रममा संगठनकी रूपन्देही जिल्ला इन्चार्ज रूपा बुढा मगर लगायत पार्टी र संगठनका विभिन्न नेता तथा कार्यकर्ताहरू, अस्पतालका कर्मचारी, जनस्वास्थ्यकर्मीहरूको उपस्थिती रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal