ट्रेन्डीङ्ग

सुनवल नगरपालिका आइसीयू सहितको कोभिड अस्पताल संचालनको तयारीमा

बैशाख २६ सुनवल ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका आइसीयूसहितको कोभिड अस्पताल संचालन गर्ने तयारीमा लागेको छ ।

विश्वव्यापी रुपमा फैलिएको नयाँ भेरिएन्टको कोभिड–१९ को संक्रमण जिल्लामा पनि तीव्र रुपमा फैलिदै गएको छ । जसको संक्रमणबाट संक्रमित बिरामीहरु अहिले अक्सिजनसहितको बेड नपाएर ज्यान गुमाउनुपर्ने बाध्यात्मक अवस्थालाई मध्यनजर गर्दै सुनवल नगरपालिकाले आफैं आइसीयूसहितको कोभिड अस्पताल संचालनको तयारीमा जुटेको छ ।

देशभर नै अक्सिजन र बेडको अभाव छ जसकारण कोभिड–१९ का बिरामीहरु उपचार नपाएर ज्यान गुमाइरहेका छन् । यस्तो अवस्थामा आफ्ना नगरबासीहरुलाई बचाउन नगरप्रमुख भिम बहादुर थापा क्षेत्रीले पालिकामा १० बेडको आइसीयूसहितको २० बेडको कोभिड अस्पताल संचालनमा लागेको जानकारी दिए ।

सुनवल-१ स्थित आइसोलेशन भवनमा उक्त कोभिड अस्पताल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ । नगरपालिकाको स्वास्थ्य शाखा र स्वास्थ्य चौकीका प्राविधिकहरुको सहयोगमा बेड र स्वास्थ्य उपकरण लगायतका सरसामानहरुको सेटिङ भइरहेको र उक्त अस्पताल दक्ष चिकित्सकको प्रत्यक्ष निगरानीमा सञ्चालन गरिने नगरप्रमुख थापाले जानकारी दिए ।

नगरप्रमुख थापाले अस्पतालहरुमा बेड र अक्सिजन अभाव देखेर आफनो नगरबासीहरुलाई उपचार सेवा प्रदान गर्न सुनवलमा रहेको सर्वाेत्तम सिमेन्ट लिमिटेडसंग पहल गरी ७० लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरणसहितको स्वास्थ्य सामग्रीहरु सहयोग प्राप्त गरेको छ ।

सिमेन्ट लिमिटेडले नगरपालिकालाई कोभिड अस्पताल संचालनका लागि कम्फर्ट बेड १० सेट, पेसेन्ट मोनिटर ४ सेट, ईसिजी मेसिन १ सेट, सिरिन्ज पम्प ५ सेट, ईन्फ्युजन पम्प ५ थान, सक्सन मेसिन १ थान, बिआइपिएपी अटो विथ ह्युमिडिफायर ३ सेट, सिपिएप अटो ब्लु विथ हिटेड ह्यमिडिफायर २ सेट, अक्सिजन फ्लोमिटर १० थान, क्राश क्राफट ट्रली १ थान, डिफिब्रिल्लेटर १ थान गरि ७० लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरण र सामग्रीहरु नगरप्रमुख र उपप्रमुखलाई हस्तान्तरण गरेको छ । उक्त उपकरण र थप नगरपालिकाको सहयोगले १० बेडको मिनी आइसीयू र २० बेड अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालन हुने नगरपालिकाले जनाएको छ । यसभन्दा अगावै नगरपालिकाले अक्सिजनसहितको २० बेड आइसोलेशन सेन्टर संचालन गर्दै आएको थियो ।

नगरपालिकामा आइसीयुसहित उक्त कोभिड अस्पताल सञ्चालनका लागि सिमेन्ट लिमिटेडले आज उक्त स्वास्थ्य उपकरणहरु नगरपालिकालाई हस्तान्तरण गरेको छ । नगरपालिकाले उक्त स्वास्थ्य उपकरणहरु पाएपछि कोभिड अस्पताल निर्माणमा लागिपरेको र २/३ दिनभित्रै संचालनमा ल्याउने नगरप्रमुख थापाले जानकारी दिए ।

नगरप्रमुख थापाका अनुसार उक्त कोभिड अस्पतालमा स्वास्थ्य उपकरण सिमेन्टले दिए पनि प्राविधिक र जनशक्ति लगायतका सम्पुर्ण सञ्चालन खर्च सहयोग नगरपालिकाको रहने जानकारी दिए ।यो अस्पताल सञ्चालनमा नगरउपप्रमुख दधिराम अर्याल लगायत वडाअध्यक्षहरु र कर्मचारीहरु समेत लागिपरेका छन् ।

जिल्लामै सुनवल नगरपालिकाले आइसीयूसहितको कोभिड अस्पताल संचालन गर्न लागेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?