ट्रेन्डीङ्ग

प्रशासनकै मिलोमतोमा सुस्ताको रायपुरवा खोलामा चरम दोहन

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-१ मा पर्ने रायपुरवा खोलामा खोलाजन्य सामग्री निष्कासन गर्ने क्रममा चरम दोहन भएको स्थानीयले गुनासो गरेका छन् ।

उक्त खोलामा अवैधानीक रुपमा ठुला उपकरणहरु प्रयोग गरेर खोलाजन्य सामग्रीहरुको चरम दोहन गरिएको उनीहरू बताउँछन् । विगतका वर्षहरुमा पनि उक्त खोलाबाट नदिजन्य सामाग्रीहरु निष्कासन गर्ने गरिएको भएतापनि चालु आव २०७७/०७८ को खोलाजन्य सामाग्री निष्कासनको लागि गरिएको ठेक्कामा भने अत्याधिक दोहन भएको स्थानीयहरुले गुनासो गरेका छन् ।


चरम दोहनले यस क्षेत्रका पानीका मुहानहरु सुक्न थालेका छन्। आगामी वर्षहरुमा खानेपानीको चरम संकट देखिने भएको छ । अवैध दोहनबाट खोलाले धार परिवर्तन गरी उक्त खोला मानव बस्ती तर्फ प्रवेश गर्न जोखिम रहेको साथै खोलाको दोहन हुदैँ गएको अवस्थामा आगामी केही वर्षमा त्यस क्षेत्र मरभुमिको रुपमा परिणत हुने खोला सरंक्षण संघर्ष समितिका संयोजक टंक चापागाईंले जानकारी दिनुभयो ।अवैधानिक दोहनको प्रतिकार गरेका स्थानीयहरुलाई ठेकेदारका व्यक्तिहरुले हातपात समेत गरेका छन् ।

आइतबार प्रतिकार गर्न पुगेको अवस्थामा आफूहरुलाई ठेकेदारका व्यक्तिहरुद्धारा हातपात गरिएको स्थानीय महेश मुसहरले बताए । त्यस्तै आफूहरुमाथि हातपात भएको व्यहोरा सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेलाई फोन मार्फत जानकारी गराउँदा पाण्डेले गैर जिम्मेवार जवाफ दिएको उनीहरुले बताएका छन् ।


गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले गाउँपालिकाकै सिफारिसमा खोलामा ठुला उपकरणहरु प्रयोग गरिएको स्वीकारेका छन् । पाण्डेले पछिल्लो समय कोराना माहामारीको जोखिम बढ्दै गएको बताउँदै भने ‘कोदालो र बेल्चाले सामाग्रीहरु निकाष्सन गर्दा धरै भिडभाड हुने भएकाले ठुला उपकरण प्रयोगको लागि सिफारिस गरिएको हो ।’गाउँपालिकाले जिल्ला समन्वय समितिलाई ठुला उपकरण प्रयोग गर्न दिनका लागि सिफारिस गरेको पालिका अध्यक्षको भनाई रहेको छ ।

यस अघिका वर्षहरुमा उक्त खोलाको ठेक्का रु ५० लाखको हाराहारी जाने भएतापनि यस वर्ष भने सोही खोलाको ठेक्का करिब रु १ करोड ५० लाख पुगको हो । पाण्डेले ठेक्कामा गरिएको लगानी घाटा हुन नदिनको लागि समेत ठुला उपकरणहरुको आवश्यकता रहको जिकिर गरेका छन् ।


उक्त खोलाबाट निष्कासन गर्ने खोलाजन्य सामग्री मापदण्ड अनुसार अर्थात प्रतिकुल असर नपर्ने गरी निकाष्सन गर्न दवाव सिर्जना गर्नको लागि सुस्ता गाउँपालिका वडा न. १ र २ का युवाहरु सम्मिलित एक संघर्ष समिति समेत गठन गरिएको थियो । उक्त संघर्ष समितिका सह–संयोजक ज्ञानु खनाललाई ठेकेदारका व्यक्तिहरुले हातपात गरेका हुन् । अवैध दोहनको विरुद्धमा आवाज उठाइरहेका अभियन्ता तथा अगुवाहरुलाई समेत उनीहरुले धाकधम्की दिने गरेका छन् । अगुवाहरुको घर घरमै आएर आफूहरुलाई विभिन्न प्रकारको धम्की दिने गरेको उनीहरुले बताएका छन् ।

उनीहरुले राजनैतिक पहुँच र शक्तिको आडमा खोलाको दोहान गरिएको पाइएको हो ।
त्यस्तै त्यहाँको स्थानीय प्रहरीहरु समेत मुकदर्शक रहेको स्थानीयको गुनासो रहेको छ । इलाका प्रहरी कार्यालय बेलाटारीको टोली औपचारिकताको रुपमा मात्रै खोलाक्षेत्रमा आउने तर अवैध दोहन नियन्त्रणको लागि ठोस कदम नचालेको उनीहरुले बताएका छन् ।

आज मात्रै खोलामा ४ वटा जेसीभिबाट उत्खनन् कार्य भैरहेको छ । त्यसमा स्थानीय प्रशासन, सुस्ता गाउँपालिका तथा जिल्ला समन्वय समितिको मिलेमतोमा काम भैरहेको छ । पालिका अध्यक्ष पाण्डेलाई पटक पटक आग्रह गर्दा र समितिबाट डेलिकेशन जादा पनि टेण्डर गर्ने र मिलेमतोमा ठुला ईक्विपमेन्टहरु चलिरहेका छन । यसमा स्थानीय ठेकेदार, वडाअध्यक्ष, गाँउपालिकाअध्यक्ष, जिल्ला समन्वय समिति प्रमुख सबैको मिलोमतो रहेको स्थानीयको आरोप छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal