गल्याङ बैशाख २३ । स्याङ्जाको गल्याङ नगरपालिकामा कोरोना संक्रमणको दर अझै बढि तिब्र गतिमा बढेको छ । नगरपालिकाले सञ्चालन गरेको गल्याङ नगर अस्पतालमा बिहीबार गरिएको ११ जनाको एण्टिजिन परिक्षणका क्रममा १० जनामा संक्रमण पोजिटिभ देखिएको छ ।
संक्रमित हुनेहरुमा गल्याङ नगरपालिका वडा नम्बर तीनका सात जना रहेका छन् भने वडा नम्बर आठका एक जना र वडा नम्बर ११ का दुई जना रहेका छन् ।
सक्रमित हुनेहरुमा वडा नम्बर तीनका ३३, ३५, ४० र ४१ वर्षका पुरुष रहेका छन् भने वडा १८, २८ र २९ वर्षका महिला रहेका छन् ।
यसैगरी वडा नम्बर आठकी ५८ वर्षकी एक महिलामा पनि संक्रमण भेटिएको छ । यस्तै, वडा नम्बर ११ का ३९ र ४० वर्षका दुई पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।
उनीहरुमा गम्भीर लक्षण भने नदेखिएको गल्याङ नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
यो संगै गल्याङ नगरपालिकामा कोरोना संक्रमणको नयाँ भेरियण्ट संक्रमितको संख्या ३३ पुगेको छ । गल्याङ नगरपालिकामा बुधबार गरिएको १० जनाको परिक्षणमा आठ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।
गल्याङ नगरपालिकामा अहिलेसम्म वडा नम्बर ४, ५ र ६ बाहेकका सबै वडाहरुमा संक्रमितहरु भेटिएका छन् ।
नगरपालिका बाहिर काठमाडौंमा एक जना, पोखरामा तीन जना पाल्ल्पामा एक जना तथा बुटवलमा २ जना संक्रमितको उपचार भैरहेको छ ।
यस्तै, नगरपालिकामा होम आइसोलेसनमा १८ जना, होम क्वारेण्टाइनमा तीन जना तथा संस्थागत क्वारेण्टाइनमा ६ जना बसिरहेका छन् ।