
परासी।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नवलपरासी पश्चिमले निर्वाचन क्षेत्र नं. २ लक्षित गर्दै चुनाव प्रचारप्रसार सम्पर्क कार्यालय स्थापना गरेको छ।पाल्हीनन्दन गाउँपालिका–३ बेलाशपुर चोकमा स्थापना गरिएको उक्त कार्यालयको उद्घाटन राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा क्षेत्र नं. २ का उम्मेदवार धुव्रबहादुर प्रधानले गरेका हुन्।
कार्यालय उद्घाटन गर्दै प्रधानले राप्रपाको पहिलो एजेन्डा सुशासन स्थापना र भ्रष्टाचारको अन्त्य रहेको बताए। उनले विगतका आन्दोलन र जनताको चाहनाले देशमा सुशासन र पारदर्शिताको आवश्यकता झन् स्पष्ट बनाएको उल्लेख गरे।
“भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु सरह हो,” उनले भने, “देशमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न अब इमानदार राजनीतिक नेतृत्व आवश्यक छ।”उनले २०७९ सालको निर्वाचनमा जनताले दिएको विश्वासलाई सम्मान गर्दै सदन र सडक दुवै ठाउँबाट जनअपेक्षा पूरा गर्न आफू लागिपरेको दाबी गरे।
सामाजिक सद्भाव, सुशासन र जनमुखी शासन व्यवस्था निर्माण राप्रपाको प्राथमिकता रहेको उनको भनाइ थियो।प्रधानले राप्रपाले सबै धर्मलाई समान सम्मान गर्ने नीति लिएको उल्लेख गर्दै सांस्कृतिक पहिचानको संरक्षण र हिन्दु राज्यको पुनःस्थापनाको एजेन्डा पार्टीले उठाउँदै आएको बताए।प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था पनि राप्रपाको प्रमुख राजनीतिक प्रस्ताव भएको उनले स्पष्ट पारे।
राप्रपाका जिल्ला प्रवक्ता सन्तोष पाण्डेका अनुसार बेलाशपुरसँगै सरावलको मनरी र सदरमुकाम परासीमा पनि निर्वाचन क्षेत्र नं. २ अन्तर्गत चुनाव प्रचारप्रसार सम्पर्क कार्यालय स्थापना गरिएको छ।कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष ओमबहादुर सिंह, कार्यालय सचिव माधवलाल श्रेष्ठलगायत नेताहरूले पनि धारणा राखेका थिए।










