
सुनवल।पश्चिम नवलपरासीको सुनवल-४ रमवापुरमा रहेको रमवापुर माध्यमिक विद्यालयको ३९ औँ वार्षिकोत्सव मनाएको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा बहादुर बलालको अध्यक्षता तथा पूर्व मन्त्री एवं लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतको प्रमुख आतिथ्यतामा पुरस्कार तथा छात्रवृत्ति वितरण साथै विविध कार्यक्रम गरी बार्षिकोत्सव मनाएको हो।
प्रमुख अतिथि पुर्व मन्त्री बस्नेतले शिक्षानै राष्ट्र निर्माणको आधार भएको उल्लेख गर्दै सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक, स्थानीय तह र सरकारबीच समन्वय आवश्यक रहेको बताए। बस्नेतले विद्यालयले हासिल गरेको प्रगति प्रशंसनीय रहेको भन्दै प्रविधिमैत्री,सीपमूलक र व्यवहारिक शिक्षामा जोड दिनुपर्ने धारणा व्यक्त गर्दै र आफ्नो तर्फबाट सदैव सहयोग गर्ने प्रतिबद्ध रहेको जनाए।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष राजु सुवेदी, मुलपानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष यज्ञ पाण्डे, पूर्व प्रधानाध्यापक तथा लुम्बिनी माविका प्रअ हुमनाथ सुवेदी, देवकोटा क्याम्पसका अध्यक्ष कृष्णप्रसाद लामिछाने, सुनवल नगरपालिकाका शिक्षा अधिकृत पशुपति भट्टराई तथा सुनवल-४ का वडा अध्यक्ष बालकृष्ण पंगेनीले सामुदायिक विद्यालयको सुदृढीकरण, शैक्षिक गुणस्तर सुधार,अनुशासन र सबै पक्षको सहकार्य अपरिहार्य रहेको धारणा राखे।उनीहरूले छात्रवृत्ति तथा अक्षयकोषले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शिक्षामा टिकाइराख्न महत्वपूर्ण भूमिका खेलेको बताए।
त्यसैगरी विद्यालयका प्रधानाध्यापक धुर्वराज घिमिरेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा हाल ७ सय ८० विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा ४८ जना शिक्षक तथा कर्मचारी कार्यरत रहनुका साथै ३ करोड ९७ लाख बराबरको आर्थिक प्रतिवेदन रहेको जानकारी दिए। लावण्य इन्टरनेशनलको परामर्श एव सहकार्यमा मन्टेश्वरी कक्षा सञ्चालन हुँदै आएको विद्यालयले जनाइएको छ।
कार्यक्रममा अक्षयकोषबाट छात्रवृत्ति वितरण गर्नुका साथै अक्षयकोष स्थापना गर्ने दाताहरूलाई सम्मान तथा अभिभावक बिच हाजिर जवाफ प्रतियोगिता र विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुत गरेका थिए।
साथै व्यवस्थापन समिति अध्यक्ष ताराबहादुर बलालले विद्यालयलाई शैक्षिक, भौतिक तथा व्यवस्थापकीय रूपमा थप सबल बनाउने लक्ष्यसहित व्यवस्थापन समिति, शिक्षक,अभिभावक र समुदायबीच सहकार्यलाई प्राथमिकतामा राखिएको बताउनुभयो।अध्यक्ष बलालले गुणस्तरीय शिक्षा, अनुशासन र विद्यार्थीमैत्री वातावरण निर्माणमा निरन्तर प्रयास जारी रहने बताए।कार्यक्रमको सञ्चालन शिक्षक कृष्णप्रसाद लामिछानेले गरेका थिए।











