
सुनवल।पश्चिम नवलपरासीको सुनवलमा पाँचौ सुनवल महोत्सव मंसिर १० गतेदेखि २१ गतेसम्म हुने भएको छ।सुनवल उद्योग वाणिज्य संघले बिगतका बर्ष जस्तैः यसबर्ष पनि महोत्सव आयोजना गरिने संघले जनाएको हो।
संघले आईतवार पत्रकार सम्मेलनमार्फत स्थानीय उत्पादन, सेवा र उद्योगको प्रवर्द्धनसँगै परम्परागत उत्पादनलाई आधुनिक प्रविधिबाट रूपान्तरण गरी बजार विस्तार गर्ने उद्देश्य रहेको अध्यक्ष रमेश कर्माचार्यले जानकारी दिए।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय उद्योग, व्यवसाय, निर्यातकर्ता र सेवाप्रदायक संस्थाहरूको सहभागिता रहनेछ।आयोजकले करिब ९ लाख दर्शकको उपस्थिति र १० करोड रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष कर्मचार्यले जानकारी दिए।महोत्सवले उत्पादक, व्यापारी र उपभोक्ताबीचको सम्बन्ध सुदृढ गर्दै नयाँ सोच र अवसर सिर्जना गर्ने लक्ष्य लिएको बताए।
महोत्सवमा करिब २ सयभन्दा बढी व्यापारिक स्टल रहनेछन्। होटल, स्वास्थ्य, शिक्षा, कृषि, सूचना प्रविधि, निर्माण सामग्री, हस्तकला, जुत्ता, कपडा, राष्ट्रिय र अन्तर्राष्ट्रिय उत्पादनका सामग्री प्रदर्शन गरिनेछ। साथै, सांस्कृतिक कार्यक्रम, खानपान महोत्सव, विज्ञान तथा कला प्रदर्शनी, बाल उद्यान, खेलकुद, म्युजिक शो, नृत्य र गायन प्रतियोगिता पनि हुने महासचिव तेज प्रसाद भण्डारीले बताए।
साधारण प्रवेश शुल्क रु. १०० र विद्यार्थीका लागि रु. ७० गरिएको छ।सामाजिक संस्थाका लागि पनि विशेष छुटको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ।
मेला सञ्चालन खर्च करिब ८० लाख रुपैयाँ रहने र सो आम्दानी संघको भवन निर्माणमा प्रयोग गरिने उद्योग उपाध्यक्ष इश्वरी भण्डारी जानकारी दिए।।।
सुनवलको समग्र विकासका लागि मेला–महोत्सवले योगदान पुर्याउने उल्लेख गर्दै, यसका प्रचार-प्रसारमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने पत्रकार महासंघका अध्यक्ष केशव पराजुलीले बताए।
महोत्सवको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधि, उद्योगी–व्यवसायी, सरोकारवाला र हजारौँ दर्शक सहभागी हुने अपेक्षा गरिएको छ। समापन मङ्सिर २१ गते हुनेछ।महोत्सव सुनवल–३स्थित सोमनाथ खेलमैदानमा आयोजना हुनेछ।











