ट्रेन्डीङ्ग

सुनवलमा एक महिने राष्ट्र कल्याण विश्व शान्ति श्रावणी महा-महोत्सव हुने

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा एक महिने राष्ट्र कल्याण विश्व शान्ति श्रावणी महामहोत्सव आयोजना हुने भएको छ।सुनवल नगरपालिका-१०,खखरीबारीस्थित ॐ कारेश्वर महादेव मन्दिरमा श्रावण १ गतेदेखि हुने भएको हो।

आयोजक महादेव सेवा समितिले महायज्ञ स्थलमा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको उद्घाटन साउन १ गते झाँकीसहितको शोभा कलश यात्रा, हेलिकप्टरबाट पुष्पवृष्टि तथा जलार्पण कार्यक्रम सहित हुने बताइएको छ।श्रावण महिना धार्मिक दृष्टिले शुद्ध र फलदायी महिनाका रूपमा लिइने भएकाले एक महिनासम्म धार्मिक अनुष्ठान सञ्चालन गरी मन्दिर परिसरलाई धार्मिक केन्द्र बनाउने लक्ष्य लिइएको छ।

विश्वशान्तिको कल्याण सहित ॐ कारेश्वर मन्दिरको सर्वाङ्गीण विकास, अक्षय कोष स्थापनार्थ महाआरती, ज्येष्ठ नागरिक सत्सङ्ग भवन निर्माण र धार्मिक तथा आध्यात्मिक चेतना अभिवृद्धि गराउने उधेश्यले महायज्ञ आयोजना गरिएको आयोजक समितिका संयोजक विष्णु पौडेलले जानकारी दिए।

सबैभन्दा कान्छा उमेरका कथावाचनकर्ता सहीत देशविदेशका एक हजार बढी प्रखर कथावाचक वाचिकाले यज्ञमा प्रवचन तथा कथावाचन गर्ने कार्यक्रम रहेको यज्ञका संकल्पकर्ता बालव्यास श्रवण न्यौपानेले जानकारी दिए।यो यज्ञ अन्य महायज्ञहरु भन्दा फरक हुने भएकाले एक सय बढि देशविदेशका प्रवचनकर्ता सहभागी हुने र देशविदेशका श्रद्धालुहरु आउने न्यौपानेले बताए।

तुरीया खोला किनारमा रहेको उक्त मन्दिरमा महामहोत्सवको क्रममा दैनिक महाआरती, ज्येष्ठ नागरिक सम्मान, कन्यापूजन, सवाकरोड लक्ष्यवर्ती दिप प्रज्वलन, सवाकरोड पार्थिव शिवलिङ्ग पूजन तथा सवा करोड बेलपत्र अर्पण गर्ने कार्यक्रम तय गरिएको छ । यज्ञ अवधिमा ख्याती प्राप्त कलाकारहरुद्धारा भजन कीर्तन एवं विभिन्न झाँकी प्रस्तुत गर्ने पनि कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

तुरीया खोला किनारमा अवस्थित ॐ कारेश्वर मन्दिरलाई महामुनि कपिलदेवले ध्यान बसेको स्थलका रहेको धार्मिक मान्यता छ। कपिलदेवले यहीँ तपस्या गरी कपिलवस्तु प्रस्थान गरेको धार्मिक विश्वास रहेको आयोजकले जनाएको छ ।

महामहोत्सवमा दश लाखभन्दा बढी श्रद्धालुहरूको सहभागिता हुने आयोजक समितिको अनुमान छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?