ट्रेन्डीङ्ग

रामग्राममा मेयर छात्रवृत्ति कार्यक्रमः गरिब विपन्न परिवारका बालबालिका समेत निजी विद्यालयमा निशुल्क पढ्न पाउने

परासी।गरिब विपन्न परिवारका बालबालिका समेत निजी विद्यालयमा निशुल्क पढ्न पाउने व्यवस्था गरिएको छ । तर यो व्यवस्था पश्चिम नवलपरासीको रामग्राम नगरपालिका भित्र मात्र लागु भएको छ । रामग्राम नगर भित्रका साढे दुई सय बालबालिका निजी विद्यालयमा निशुल्क अध्ययन गर्ने भएका छन् । आज नगरपालिको पत्रकार सम्मेलनको आयोजना गरि मेयर छात्रवृत्ति कार्यक्रम बारे जानकारी गराउदै यस्तो कार्यक्रम नेपालमै पहिलो पटक संञ्चालनमा आएको जनाएको छ । सामाजिक उत्तरदायित्व बहन गर्दे रामग्राम नगरपालिकाको अनुरोध अनुसार नगरभित्रका २४ वटा संस्थागत विद्यालयमा निशुल्क विद्यार्थी अध्ययन गर्न पाउने गरी मेयर छात्रवृत्ति कार्यक्रम लागू गरिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) र नगरपालिकाबीच मेयर छात्रवृत्ति कार्यक्रममा हस्ताक्षर भई चालु शैक्षिक सत्रबाट कार्यक्रम सञ्चालनमा आएको नगर प्रमुख धनपत यादवले बताए ।

मापदण्ड अनुसार गरिब विपन्न, जेहेन्दार, सीमान्तकृत समुदाय, सहिद परिवारका बालबालिकाले कक्षा ४ देखि ११ सम्म पुर्ण रुपमा निशुल्क पढ्न पाउनेछन् । “निजि सङ्घ संस्थाको पनि आफ्‌नै सामाजिक उत्तरदायित्व छ, सोही अनुरूप हामीले अनुरोध गरेअनुसार संस्थागत विद्यालयहरूले छात्रवृत्तिमा अध्यापन गराउन तयार हुनुभयो, यो निकै सुखद कुरा हो ।” नगर प्रमुख यादवले भने । निजी क्षेत्र संगको सहकार्य बढाउदै जाने योजना अनुरुप विद्यालयहरु संग छात्रवृत्तिको कार्यक्रम ल्याईएको बताउदै यादवले शैक्षिक सुधारको अभियानको रुपमा नगरले काम गरिरहेको उल्लेख गरे ।

प्याब्सनका रामग्राम नगर अध्यक्ष बलिराम यादवले नगरले सुरु गरेको शैक्षिक सुधारको अभियानमा संस्थागत विद्यालयको उत्तरदायित्व अन्तरगत स्थानीय सरकारलाई सहयोग गरेको बताए । नगर प्रमुखले पटक पटक आग्रह गर्नुभयो, हामीले पनि उत्तरदायित्व बहन गर्दे विभिन्न समस्याका बिचबाट नगरपालिकालाई सहयोग गर्ने निर्णयमा पुगेका हौँ, अध्यक्ष यादवले भने ।

रामग्राम नगरपालिकाले विद्यार्थी छनौटको मापदण्ड बनाएर मापदण्ड अनुसार छनौट भएका बालबालिकालाई विभिन्न संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययनका लागी पठाउने छ । एउटा संस्थागत विद्यालयमा बढिमा १६ जना सम्म विद्यार्र्थी निशुल्क अध्यापन गराउनु पर्ने गरी मापदण्ड तय गरिएको शिक्षा अधिकृत सुन्दर खनालले बताए । साढे दुई सय विद्यार्थीका लागी संस्थागत विद्यालयको झन्डै वार्षीक एक करोड खर्च हुने बताईएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?