ट्रेन्डीङ्ग

पश्चिम नवलपरासीको बेलासपुरमा दुई समूहबीच झडप, २० जना घाइते

परासी ।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-३ बेलासपुरमा प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच झडप हुँदा २० जना घाइते भएका छन।घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।झडपका क्रममा इलाका प्रहरी कार्यालय महेशपुरको गाडी र एक कवार्ड गोदाममा आगजनी गरिएको छ।

मंगलबार केटा पक्ष र केटी पक्षबीच भएको झडपमा केटा पक्षको समूहले केटी पक्षका आफन्त मोहरम पवरियाको बेलासपुरस्थित कवार्ड गोदाममा आगजनी गरेका छन।आगजनीबाट गोदाम पूर्ण रूपमा ध्वस्त भएको छ भने केटी पक्षको घरमा पनि क्षति पुगेको छ।

धोबी थरका एक युवक र मुस्लिम समुदायकी युवतीबीचको प्रेम सम्बन्धका कारण विवाद सुरु भएको एक स्थानीयले बताए।

घाइतेमध्ये केटा पक्षका विजय धवल र बैजनाथ प्रसाद लोनियाको अवस्था गम्भीर छ।दुबैजनाको भैरहवा सिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए।

झडपको स्थिति नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड अश्रुग्यास र ३ राउण्ड हवाई फायर गरेको थियो।झडपमा ११ जना नेपाल प्रहरी, ४ जना सशस्त्र प्रहरीसहित ३ जना स्थानीय घाइते भएका छन्।उनीहरूको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ।

आगजनीमा संलग्न चार महिला सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।बेलासपुरमा अहिले स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ।आगलागी नियन्त्रणका लागि बर्दघाट र रामग्राम नगरपालिकाबाट दमकल मगाइएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?