ट्रेन्डीङ्ग

दादुरा-रुबेला विरुद्धको खोप नवलपरासीका १ लाख बढी बालबालिकालाई लगाइदै

परासी । पश्चिम नवलपरासीमा एक लाखबढी बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइँदैछ । जिल्लाका सात पालिकामध्ये पहिलो चरणमा नगरपालिका र दोस्रो चरणमा गाउँपालिकामा अभियानकै रुपमा सञ्चालन गरि खोप लगाइने छ।

जसअनुसार फागुन १३ देखि १९ गतेसम्म रामग्राम , सुनवल र बर्दघाट नगरपालिकामा सञ्चालन गरिनेछ भने फागुन २१ गतेदेखि २७ गतेसम्म पाल्हीनन्दन,सरावल,प्रतापपुर र सुस्ता गाउँपालिकामा सञ्चालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख ओम प्रकाश पन्थीले जानकारी दिए।

सरकारले दादुराबाट उच्च जोखिममा रहेका काठमाडौं र तराई जिल्लामा रहेका ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई यो रोगविरुद्धको खोप लगाउँदैछ । बाँकी जिल्लामा रहेका ९ महिनादेखि ५ वर्षसम्मका बालिबालिकालाई उक्त खोप लगाउन अभियान नै सञ्चालन गरेको छ।

जसअनुसार पश्चिम नवलपरासीमा रहेका ९ महिनादेखि १५ वर्षसम्मका कुल १ लाख ५ हजार ४५९ जना बालबालिकामा खोप लगाइने लक्ष्य रहेको स्वास्थ्य प्रमुख पन्थीले बताए। यो खोप नियमितरुपमा खोप लगाउँदा लगाएको भएपनि अभियानका बेला पनि अनिवार्य लगाउनु पर्नेछ।

जिल्लाका ३७३ स्थानमा खोप केन्द्र स्थापना गरी खोप लगाउने व्यवस्था मिलाइएको छ । त्यसका लागि ७७७ जना स्वास्थ्यकर्मी र १ हजार ८८ स्वयंसेवक गरी कुल १ हजार ८६५ जना जनशक्तिलाई परिचालन गरिने स्वास्थ्य प्रमुख पन्थीले जानकारी दिनुभयो । खोप केन्द्रका रुपमा यसअघि अभियानका रुपमा सञ्चालन भएका खोप केन्द्र,नियमित खोप केन्द्र र स्वास्थ्य संस्थालाई तोकिएको छ ।

सबै उमेर समूहमा देखिन सक्ने यो रोगबाट सबैभन्दा बढी ५ वर्षमुनिका बालबालिकाहरू जोखिममा रहेका छन् । यो रोगको उपचार नभएकाले खोप नै प्रभावकारी भएकाले अभियानको समयमा बालबालिकालाई नछुटाउन स्वास्थ्य कार्यालयले अभिभावकहरुलाई आग्रह गरेको छ ।

सरकारले सन २०२६ सम्म दादुरा-रुबेला रोगको निवारण र पोलियो उन्मूलन गर्ने लक्ष्य लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?