
काठमाडौं । बंगलादेशी नागरिकलाई रोजगारीका लागि पोल्याण्ड पठाउँछु भन्दै काठमाडौं ल्याएर बन्धक बनाउने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले यसरी बन्धक बनाइएका ८ जना बंगलादेशी नागरिकलाई उद्दार गरेको छ भने यसमा संलगन ७ जनालाई पक्राउ गरेको हो ।
कार्यालयका प्रमुख डा.मनोज केसीका अनुसार, पक्राउ पर्ने मध्ये ५ जना बंगलादेशी नागरिक नै छन । प्रहरीले यसमा संलग्न रहेको आरोपमा बंगलादेशको गाजिपुरका ४७ वर्षीय अमिर हुसेन, बरिसालका ३७ वर्षीय एमडी मोसिउर, ३८ वर्षीय सलिम मियाँ, २१ वर्षीय जहाङ्गीर आलम र २१ वर्षीय तहमिना बेगमलाई पक्राउ गरेको छ ।
उनीहरुलाई सहयोग गरेको आरोपमा दुई नेपाली महिला पनि पक्राउ परेका छन । पक्राउ पर्नेमा इलाम चुलाचुली-४ की ३३ वर्षीया रोशनी राई र बलेफी-६, सिन्धुपाल्चोककी २७ वर्षीया तारा नेपाली छन । प्रहरीका अनुसार उद्दार गरिएकाहरुले आफूहरुलाई पोल्याण्ड लैजाने भन्दै ५ लाख रुपैयाँ लिइएको बताएका छन ।
तर, उनीहरुलाई काठमाडौं ल्याएर अलपत्र पारिएको पाइएको छ । ‘कतिपयलाई मसाज सेन्टरमा पनि काम लगाएको पाइएको छ’, एसएसपी केसीले भने, ‘परिवारसँग पनि फिरौती मागेको भेटिएको छ ।’ कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।