
चितवन।नारायणघाट-मुग्लिन सडकखण्ड फेरि बन्द भएको छ।चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको हो।
अस्ति बिहीबार दिउँसो पनि यही ठाउँमा पहिरो खसेर बन्द भएको सडक हिजो बेलुकी ५ बजेदेखि खुलेको थियो।२८ घण्टासम्म रोकिएका गाडी गन्तव्यमा जान नभ्याउँदै फेरि आज बिहान सवा ३ बजे पहिरो खसेर सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।पानी परिरहेकाले तत्काल पहिरो खुलाउन समस्या भएको प्रहरीको भनाइ छ ।
पहिरो खुले पनि माथिबाट लगातार ढुंगा झरिरहने भएकाले यो ठाउँमा जोखिम बढेको प्रहरीले जनाएको छ।पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाण्डौ ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन।