ट्रेन्डीङ्ग

कोल्पुखोलामा काठमाडौँ महानगरको दादागिरीः बन्चरेडाँडाको लेदो सिधैँ खोलामा

काठमाडौँ ।उपत्यकाको फोहोर फालिने स्थान नुवाकोट ककनी ३ बञ्चरेडाँडामा थुप्रिएको फोहोरबाट निस्केको लेदो सिधैँ खोलामा फाल्ने गरिएको छ । मंगलबारदेखि काठमाडौँ महानगरले फोहोरबाट निस्कने विषाक्त लेदो जम्मा हुने गरेको ट्याङ्की खोलेर सिधैँ कोल्पुखोलामा बगाएको हो ।




स्थानीय वातावरण र पर्यावरणलाई प्रत्यक्ष असर गर्नेगरी फोहोर फाल्न नपाइने कानुनी व्यवस्था रहेपनि महानगरले बञ्चरे क्षेत्रको फोहोरको लेदो सिधैँ खोलामा छोड्ने गरेको स्थानीय मानबहादुर तामाङले बताए । उनका अनुसार नुवाकोटको ओखरपौवा, चाउथे, कुमरी, बेलकोटगढी, धादिङको धुनिबेसी हुँदै त्रिशूली नदीमा मिसिने कोल्पुखोलामा वर्षौदेखि लेदो फालिने गरेको छ ।




काठमाडौँ महानगरले स्थानीय बासिन्दा र शहरी विकास मन्त्रालयसँग सम्झौता गरेर सिसडोल बञ्चरे क्षेत्रमा उपत्यकाको फोहोर फाल्दै आएको छ । फोहोरबाट निस्कने लेदो वैज्ञानिकरुपमा प्रशोधन समेत नगरी सिधैँ कोल्पुखोलामा फाल्दा नुवाकोट र धादिङका स्थानीयलाई प्रत्यक्ष असर गरेको छ ।



पशुचौपायाले खाने, खेतीबाली र स्थानीय बासिन्दाले समेत दैनिक प्रयोग गर्ने खोलाको पानीमा महानगरले दादागिरी देखाएर लेदो फाल्ने गरेको भन्दै स्थानीय आक्रोशित छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?