ट्रेन्डीङ्ग

वर्तमान संकटको कारकतत्व संसदीय व्यवस्था:रणनीतिक संयुक्त मोर्चा

फाल्गुन ६ बुटवल । विप्लव नेतृत्वको नेकपा सहित ४ कम्युनिस्ट पार्टी मिलेर बनेको रणनीतिक संयुक्त मोर्चाले बुटवलमा भएको जनसभमा वक्ताहरुले वर्तमान संकटको कारकतत्व संसदीय व्यवस्था भने।

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपाका क्रान्तिकारी माओवादी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र ऋषि कट्टेलको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले आजको सभालाई सम्बोधन गरेका छन् ।
राजनीतिक दलमाथिको प्रतिबन्ध तत्काल फुकुवा गर्न माग:रणनीति संयुक्त मोर्चा                हजारौं जनता सहभागी रहेको सभालाई सम्बोधन गर्दै नेताहरुले वर्तमान संकटको कारकतत्व संसदीय व्यवस्था रहेकोमा जोड दिएका छन् । कार्यक्रममा विप्लव नेकपाका नेता भेषराज भूषालले ओली सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्ध तत्काल फुकुवा गर्नु पर्नेमा जोड दिए । उनले बिनाकारण गिरफ्तार गरिएका आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई तत्काल रिहा गर्नुपर्ने बताए । उनले राजनीतिक समस्याको हल राजनीतिक तरिकाले नै खोज्न ओली नेतृत्वको सरकारलाई आग्रह गरे ।


अर्का वक्ता तथा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल ‘आहुति’ले हाल देखिएको राजनीतिक संकट संसदीय व्यवस्थाकै संकट हो भन्दै संसद व्यूँताएर मात्रै समाधान ननिस्कने बताए । उनले सरकारभन्दा बाहिर रहेका क्रान्तिकारी र देशभक्त शक्ति सम्मिलित राष्ट्रिय सहमतिको सरकार बनाएर हल खोज्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय जागरण मञ्चका अध्यक्ष गुणराज लोहनीले हाल नेपालको राजनीतिमा देखिएको समस्या हल गर्नका लागि ४ कम्युनिस्ट पार्टीले रणनीतिक मोर्चा बनाएकोमा सो मोर्चाको सफलताको कामना गरे । उनले सो मोर्चामा ४ पार्टीभन्दा बाहिर रहेका देशभक्तलाई पनि आवद्ध गर्नुपर्ने सुझाव दिए । सो मोर्चाले संसदीय व्यवस्था फालेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नका लागि निश्चित कार्यक्रम बनाएर अघि बढ्नु पर्ने र जनतालाई गोलबन्द गर्दै लानु पर्नेमा नेतालाई सुझाव दिए ।

सभामा बोल्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलले हालको व्यवस्थाकै कारण राजनीतिक संकट देखा परेको बताए । नेता कट्टेलले आफूहरुले बनाएको मोर्चाले अबको राजनीतिक समस्याको समाधान दिने दाबी गरे । अर्का वक्ता तथा नेकपा क्रान्तिकारी माओवादीका नेता रामसिंह श्रीषले आफूहरुले नेपालको संसदीय व्यवस्थाको विकल्प दिने राजनीतिक धारको विकास गरेको बताउँदै यही धारमा आवद्ध राजनीतिक पार्टीका नेताहरुले नै नेपालको राजनीतिको समस्याको समाधान दिने ठोकुवा गरे ।
सभामा बोल्ने नेताहरुले यो पहलकदमीनै नेपालको राजनीतिमा ठूलो पहलकदमी भएको दाबी गरेका छन् ।
गत माघ २९ गते काठमाडौंबाट रणनीतिक मोर्चाको घोषणा गरेका ती पार्टीहरुको घोषित कार्यक्रमअनुसार आज बुटवलमा जनसभा भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?