
नवलपरासी । कुनै समय देशको ग़ौरवका रूपमा रहेको पश्चिम नवलपरासीको सुनवल स्थित लुम्बिनी चिनी उधोग यो सीजन सञ्चालनमा आएसंगै स्थानीयले चिनीमिलको प्रदुषणले सास्ती खेप्नुपरेको भन्दै वातावरण प्रदुषण नियन्त्रणको माग गरेका छन् । सुनवल स्थित लुम्बिनी चिनीमिल सञ्चालन हुँदा वातावरणीय प्रदुषण बढेर सुनवल क्षेत्रका बासिन्दालाई स्वास्थ्य समस्या भएको भन्दै उनीहरुले प्रदुषण नियन्त्रण हुने ग्यारेन्टी हुुनुपर्ने माग गरेका छन् ।
सुनवल १ पायनियरकी स्थानिय कमला न्यौपाने भन्छिन्“ चिनीमिलको धुवा धुलोले धोएर सुकाएको कपडा पनि कालो हुन्छ अझ, हाम्रो स्वास्थ्यलाई त झन् कस्तो बनायो होला ?” यस्तै सुनवलका युवा व्यवसायी प्रदीप पोखरेल भन्छन् “प्रदुषण नियन्त्रणका लागि स्थानियसंग पटक पटक गरीएको पुर्व सहमती कार्यान्वयन नभई यस वर्ष पनि उद्योग संचालन गरिएको छ यसलाई उद्योगको अटेरीका रुपमा लिन सकिन्छ ।” उनि थप्छन् “त्यसका लागि स्थानिय प्रसासन, अन्य सरोकारवाला निकाय मुखदर्शक हुनुले स्थानिय बासीलाई थप मर्का परेको छ ।”
यता उद्योगले भने प्रदुषण नियन्त्रणका लागि उद्योगबाट निस्कने फोहोरबाट बायोकम्पोष्ट मल बनाउने, गन्ध नियन्त्रण गर्ने जानकारी दिएको छ । यस्तै उद्योगमा यस वर्षबाट वाटर फिटनेस प्लान्ट जडान गरिएको उद्योगका प्रवन्धक कुश सुवेदीले जानकारी दिए । ३ महिना अघि नगरपालिकाले अस्पताल बनाउन प्रस्ताव गरे पनि टुङ्गो नलागेको उनको भनाई छ । समुदायले आफ्नो अनुकुल प्रस्ताव राख्नु स्वभाविक भएको र आफुहरु मिललाई नागरीकमैत्री बनाएर सञ्चालन गर्ने प्रयत्नमा रहेको उनले बताए ।
यस्तै लुम्बिनी चिनी मिलले यस वर्ष कृषकलाई उखुको भुक्तानीमा ढिलार्ई नहुने बताएको छ । उखु आएको ७२ घण्टा भित्र उखुको रकम भुक्तानी गरीने प्रवन्धक सुवेदीले बताए । यस वर्ष सरकारले अझै उखुको मुल्य निर्धारण नगरेकाले गत वर्षकै मुल्यमा उखु खरिद गरिएको छ । गत वर्ष सरकारले ५२० रुपैया प्रति क्विन्टल मुल्य निर्धारण गरेको थियो । यस्तै विगतका उखुको भुक्त्तानी अव ३ लाख मात्र रहेकाले क्रमशः भुक्तानी गर्दै जाने प्रवन्धक सुवेदीले जानकारी दिए । विगतका वर्षहरुमा १२ लाख क्विन्टल उखु क्रसिङ्ग गर्ने गरिएकोमा यस वर्ष ढिलो गरी सुरु गरिएकाले ६ लाख क्विन्टल मात्र उखु क्रसिङ्ग गर्ने योजना रहेको उद्योगले जनाएको छ ।