
परासी।रोटरी क्लब अफ नवलपरासीको आयोजनामा प्रतिनिधिसभा निर्वाचन २०७९ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवारहरुसँग निर्वाचन बहस(ककस)कार्यक्रम परासीमा सम्पन्न भएको छ।निर्वाचन बहस कार्यक्रममा मुख्य तीन दलका उम्मेदवार र एक जना स्वतन्त्र उम्मेदवारलाई उपस्थित गराइएको थियो।
नेकपा एमालेका तर्फबाट संघीय उमेदवार दिपेन्द्र कुमार अधिकारी, नेपाली कांग्रेसबाट देवेन्द्रराज कँडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान र स्वतन्त्र उम्मेदवार धर्मेन्द्र गिरीको उपस्थिति रहेको थियो।
कार्यक्रममा जनताको प्रश्नलाई उत्तर दिने क्रममा उम्मेदवार दिपेन्द्र कुमार अधिकारीले पश्चिम नवलपरासीमा स्वास्थ्य शिक्षा र कृषिमा जोड दिएर विकास गर्नुपर्ने बताए निर्वाहमुखी कृषिलाई उत्पादनमुखी बनाउन विभिन्न कृषि योजनाहरु ल्याउने प्रतिबद्धता गरेका थिए।
लुम्बिनी करिडोर रामग्राम हुदै नवलपरासीको सुस्ताको अनोमाघाटसम्म लैजाने,रामग्राम स्तुपको विकासमा जोड दिएर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके पश्चिम नवलपरासीमा पर्यटन व्यवसाय राम्रो हुने बताए।
नवलपरासीमा रोजगारी नहुँदा धेरै युवाहरु वैदेशिक रोजगारीमा जानु परेकाले रोजगारी सिर्जना आफ्नो पहल हुने बताए।पैसा हालेर पनि किसानहरुले मल नपाउनु दु:खको कुरा भएकाले मलको निम्ति नवलपरासी मै मल कारखाना खोल्न पहल गर्ने समेत बताए।
धार्मिक स्थल र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके आन्तरिक र बाह्य पर्यटक नवलपरासीमा भित्राउन सकिने हुनाले पर्यटन व्यवसाय र उद्योगमा काम गर्ने बताए।
नदी कटान रोक्ने र डुबानमा परेको समस्याको समाधान गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।पुलपुलेसा निर्माण कार्य गर्ने र महेशपुरदेखि पाल्पा जोड्ने सडकलाई बनाउन सके नवलपरासीको समृद्धि हुने वताएका छन्।
त्यसैगरी जनताका प्रश्नहरूको जवाफ दिँदै पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलले विगत तीन पुस्तादेखि राजनीतिलाई नजिकबाट हेरेकाले नवलपरासीका जनताको दु:ख पीडा नजिकबाट हेरेको र अबको सन्ततीले दुःख नपाउन् भन्ने चाहना आफू राजनितिमा सक्रिय सहभागिताका लागि परेको बताएका छन्।२०१५ सालदेखि आफ्नै घरमा सानो भन्सारबाट अहिले महेशपुर मुल भन्सार मा परिणत गरेको,त्यसैगरी महेसपुरदेखि महलपोखरी सडकलाई कालीगण्डकी करिडोरसम्म जोडेर नवलपरासीको मुहार फेर्न सकिने पनि बताए।
नवलपरासीमा किसानहरुले मलको समस्या भोग्दै गरेकाले मल कारखाना खोल्ने,बिजुलीमा स्तरउन्नती गर्ने,जनताका नागरिकताका समस्याहरुलाई हल गर्ने जस्ता आफ्ना एजेन्डाहरु रहेको बताएका छन्।
त्यसैगरी स्वतन्त्र उम्मेदवार धर्मेन्द्र कुमार गिरीले प्रश्नहरूको जवाफ दिँदै आफू नवलपरासीमा विगत २७ वर्षदेखि विकासको अनुभूति गर्न नपाएकाले परिवर्तनको लागी उम्मेदवारी दिएको बताएका छन्। परिवर्तनका निम्ति राजनीतिक लडाइँमा अव जनताले युवा रोज्न अपिल गरेका छन्।स्वतन्त्र रुपमा विकासको लागि एक्लै लागे पनि आगो सुरूवात झिल्काबाट हुने भएकाले विश्वास गर्न अनुरोध गरेका छन्।आफूले नेतृत्व गर्ने अवसर प्राप्त गरेमा तस्करी,भ्रष्टाचार जस्ता समस्याहरु समाधान गरेर सुशासन कायम गर्न आफू लागि पर्ने बताएका छन्।
उमेदवारहरु सँग निर्वाचन बहस कार्यक्रम रोटरी क्लब अफ नवलपरासीका अध्यक्ष सुमन गोपाल आचार्यको सभाध्यक्षता तथा कार्यक्रम ईमेज चेयर मेघराज गौतम र कोषाध्यक्ष उर्मीला बानियाले सञ्चालन गर्नुभएको थियो भने समापन इलेक्ट प्रेसिडेन्ट विरेन्द्र अग्रहरीले गर्नुभएको थियो।