
बर्दघाट।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरी नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)१ का मतदाताका घरमा चुनावी प्रचारमा छन।निर्वाचनलाई लक्षित हुँदै प्रत्येक घरको समस्या बुझ्न मतदाताका घरमा गएका हुन।
दक्षिण एसियाकै एक मात्र डलर अर्बपति चौधरीले आफ्नो जीवनको ६५ बर्षमा कहिल्यै फेल नभएको बताएका छन।`६५ बर्षको उमेरमा कहिल्यै फेर्ल नभएको म यहाँ बिकास गर्छु भनेर आए,बिकास गर्न सकिन भने फेल हुन्छु।यत्रो बर्षमा फेल नभएको मान्छे यहाँ फेल हुन आएको होइन।´उनले भने।
नेपालका ठाउँ-ठाउँमा उनका सफल व्यवसाय छन।हजारौँलाई रोजगारी दिएको चौधरी ग्रुपका प्रमुख अनि धेरैका लागि प्रेरणाका स्रोत पनि हुन् उनी।जुनैसुकै क्षेत्रमा राजनीति भएपनि सही राजनीति कसैले गर्न नसकेको उनको दाबी छ।’राजनीतिमा त म पहिलेदेखि नै छु। संसद्मा थिएँ।वडामा गएर चुनाव लडेँ,निर्विरोध भएँ।’ उनले भने।
अहिलेकै राजनीतिक शैली र प्रवृत्तिबाट परिवर्तन सम्भव नदेखेरै आफू प्रत्यक्ष राजनीतिमा आएको उनको भनाई छ।`विकास र समृद्धिका लागि राजनीति र शासन व्यवस्थाको केन्द्रमा आर्थिक प्रणालीलाई सन्तुलन राख्नुपर्ने भएकाले म राजनीति आएको हु।’कुशल व्यवस्थापकका रूपमा आफ्नो उद्योग,व्यवसायलाई सफल पारेजसरी नै राजनीतिमार्फत देशलाई सफल बनाउने चाैधरी बताउँछन।‘यति धेरै राजनीति हुने देशको आर्थिक, सामाजिक चित्र हेर्नुस् त, कति भयानक छ ?’, उनले प्रश्न गरे, ‘तर आफ्नो त्रुटि स्वीकार्न कुनै पार्टी वा नेता तयारै छैनन।आर्थिक एजेण्डालाई प्राथमिकतामा राख्न कुनै पार्टी गम्भीर छैनन।’
उनले भने,’म संसद्मा बसेँ।व्यवसायसँगै निजीक्षेत्रका संघ/संगठनहरुको नेतृत्व पनि गरेँ।ती संस्था शक्तिशाली पनि भए।तर,मैले स्वीकार्नुपर्छ,जनताका लागि ठूलो लाभ हुनेगरी परिवर्तन गर्न सकिनँ। र,परिवर्तन गर्ने भनेको राजनीतिबाटै हो भन्ने कुरा मैले महसुस गरेँ।सबैभन्दा ठूलो नीति भनेकै राजनीति हो।अर्कै क्षेत्रमार्फत मैले एउटा टोलमा परिवर्तन ल्याउन सकौँला,एउटा ग्राम बनाउन सकौँला,धाम बनाउन सकौँला,चाैधरी ग्रुप बनाउन सकौँला।तर,राष्ट्रव्यापी परिवर्तन ल्याउन नसकिने रहेछ। म यहाँ बसेर देश बनाउन सक्दिनँ।देश बनाउन मैले तय गरेका भिजन लागू गर्न आफ्नो हस्ताक्षर चल्ने ठाउँमा पुग्नैपर्छ।काठमाडौंको बुढानिलकण्ठ किन २ वटा बन्न सकेन त ?ताकि मेरो एउटा दस्तखतले ५० वटा बूढानीलकण्ठ स्कुल बनाउन सकियाेस।५० वटा ग्राम बनाउन सकियोस्।५० वटा विशेष आर्थिक क्षेत्र बनाउन सकियोस।यस्ता थुप्रै याेजना लागू गर्न सकिन्छ।’
उनले थपे,’बिजनेस म्यान भनेका पैसाकाे थैली मात्र हुन् भन्ने साेच राजनीतिक दलहरूले त्याग्नुपर्याे।भिजन र प्रभावकारी याेजना भएकैले कुनै व्यवसायी सफल बनेकाे हुन्छ।ऊ सित देश बनाउने आइडिया पनि हुन्छ।’
एक राजनीतिज्ञमा व्यवस्थापनसम्बन्धी ज्ञान पनि हुनुपर्ने उनको तर्क छ।’एउटा विनोद चौधरी मात्रै होइन,आ-आफ्नो क्षेत्रमा सफल भएका,कुशल व्यवस्थापक,देशका लागि कार्यान्वयन योग्य,जनमुखी भिजन भएकाहरू राजनीतिमा आउनैपर्छ।मेरो सक्रियता एउटा सन्देश पनि हो’,उनले भने।
राजनीतितिर धारे हात लाउँदै देश बनेन भनेर आफूचाहिँ यसबाट नपन्छिन उनी क्षमता भएकाहरूलाई आग्रह गर्छन्।अनि राजनीतिमा युवाहरूकाे दबावमूलक सहभागितामा जाेड दिन्छन।दलहरूले पनि नवीन र प्रभावकारी योजना भएका व्यक्तिहरूलाई ठाउँ दिनुपर्ने उनको भनाइ छ।
‘पहिलोचोटि संविधान लेख्ने जिम्मेवारी थियो।त्यो बेला संविधानसभामा आएको ठूलो दल फरक सोच र सिद्धान्तको थियो।अलग किसिमको सोचलाई उनीहरूले अगाडि बढाइरहेका थिए।यस क्रममा देशलाई हानि हुने अव्यवहारिक र अवैज्ञानिक कुराहरू संविधानमा नपरून् भनेर म जस्ता व्यवसायी संविधानसभामा गएका थियौँ’, उनले भने।
कुनै पार्टीकाे सदस्यका रूपमा भन्दा पनि आर्थिक क्षेत्रको प्रतिनिधित्व गरेर आफूसहितका केही व्यवसायीहरू सरसल्लाह गरेरै विभिन्न दलको कोटाबाट संविधानसभामा गएकाे उनले बताए।त्यहाँ आफूहरू खरो रूपमा उत्रेकाे उनकाे दलिल छ।
त्यसपछि आफूलाई पार्टीका नेतासँग राम्रो सम्बन्ध भएर वा हाउसमा बोलेर मात्रै परिवर्तन सम्भव नहुने रहेछ भन्ने महसुस भएकाे चाैधरी बताउँछन।’त्यसका लागि त खेलाडी नै हुनुपर्ने रहेछ।त्यसैले स्पष्ट भिजन र नयाँ जोसका साथ पूर्णकालीन राजनीतिमा आएको हुँ।जनताले मलाई पत्याउनेछन्’,उनले विश्वाससमेत प्रकट गरे।
मुलुकको आर्थिक समृद्धिनै आफ्नो राजनीतिक सपना भएको चौधरीले बताए।‘आफ्ना लागि मेरो सपना केही छैन।नेपालबाट पढाइका लागि वार्षिक १ खर्ब रुपैयाँ विभिन्न देशका क्याम्पस र विश्वविद्यालयमा जाँदैछ।
नेपालमा त्यस्तै अब्बल क्याम्पस र विश्वविद्यालय स्थापना गरेर यहाँबाट बाहिरिने खर्बाैं रुपैयाँ रोक्दै विदेशी पैसाचाहिँ भित्र्याउने मेरो साेच छ । यति मात्रै होइन, हरेक क्षेत्रमा यस्ता योजना लागू गर्न सकिन्छ,’ उनले भने ।
२०७८ सालमा कांग्रेसको १४औँ महाधिवेशनमा मधेसी कोटाबाट कांग्रेस केन्द्रीय सदस्य चुनिएका उनी आउँदो ४ मंसिरमा नवलपरासी-१ मा प्रतिनिधिसभा सदस्यका लागि ‘ब्यालेट भिडन्त’ गर्दैछन।
यो क्षेत्रमा कांग्रेसले पछिल्ला दुई निर्वाचन लगातार हारेको छ।र,कांग्रेसका लागि चुनौती हुन्,जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठी।२०७० सालमा बाहेक यो क्षेत्रमा त्रिपाठीले अरु कसैलाई जित्न दिएका छैनन।यी दुबै नेतृत्वको प्रतिस्पर्धा रहने बताईन्छ।