
काठमाडौँ।सरकारले मुलुकमा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढी वृद्धि गरेपछि बंगलादेशभरि विरोध प्रदर्शन भएको छ।
इन्धनको मूल्यमा एक्कासी अत्यधिक वृद्धि भएको भन्दै विरोधमा बंगलादेश विद्यार्थी महासंघलगायतका केही विद्यार्थी संगठनले देशभर प्रदर्शन गरेका ढाका ट्रिब्यूनले जनाएको छ। यसैबीच प्रगतिशील विद्यार्थी गठवन्धनले पनि छुट्टै विरोध र्याली आयोजना गरेको छ।
‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आममानिसहरूको दैनिकी कठिन बनेको छ। सार्वजनिक सम्पत्तिमा सरकारले गरेको दुरुपयोगले मानिसहरूलाई यस संकटतर्फ पुर्याएको छ,’प्रदर्शनमा सहभागीमध्येका एक विद्यार्थीलाई उद्धृत गरी ढाका ट्रिब्यूनले लेखेको छ।
यसबाहेक,ढाकाका थुप्रै बसहरूले आइतबार यात्रुहरूबाट अत्यधिक भाडा लिइरहेका बताइएको छ।
तथापि,बंगलादेश जत्री कल्याण समिति(बीजेकेएस)ले इन्धनको बढ्दो मूल्यका कारण बस भाडावृद्धिमा हालै भएको वृद्धिलाई अस्वीकार गर्दै ‘उचित लागत मूल्यांकन’ पछि नयाँ बस भाडा निर्धारण गर्नुपर्ने बताएको छ।
यसैबीच,बंगलादेशी प्रकाशनले ढाका इलेक्ट्रिक सप्लाई कम्पनी लिमिटेड(डेस्को)अन्तर्गतका क्षेत्रका उपभोक्ताले आइतबार तीन घण्टा विद्युत् भार कटौतीको सामना गरेका छन्। शुक्रबार रातिदेखि लागु हुनेगरी सरकारले डिजेलको मूल्य प्रतिलिटर ३४ देखि ४६ टाकासम्म बढाएको हो।
शुक्रबार मूल्यवृद्धिको समाचारसँगै ढाकाको मोहमदपुर, अगरगाँव,मालीबाघलगायतका क्षेत्रका थुप्रै स्टेसनले इन्धन वितरणलाई रोकेका र मध्यरातदेखि वृद्धि भएको मूल्यमा बिक्री पुनःसुरु हुने घोषणा गरेका ढाका ट्रिब्यूनले जनाएको छ।