
स्याङ्जा।प्रहरीले ६ महिनाकी शिशुको अस्थायी शौचालयको खाल्डोमा हालेर हत्या गरेको आरोपमा आमासहित दुई जनालाई पक्राउ गरेको छ।स्याङ्जाको गल्याङ नगरपालिका–२ ईलुङगाकी २२ वर्षीया लक्ष्मी राना र पाल्पाको रामपुर नगरपालिका-१० कुमाल गाउँका २२ वर्षीय केदार कुमाल पक्राउ परेका हुन।
नाबालिका सहित सम्पर्कविहीन भएकी रानालाई प्रहरीले खोजतलास गर्दा शुक्रबार दिउँसो गल्याङबाटनै पक्राउ गरेको हो। कुमाललाई पनि रानाकै साथबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रवीन्द्र खनालले बताए।
‘लक्ष्मी रानाले साउन १० गते छोरीलाई राति १२ बजे ट्वाइलेटको खाल्डोमा हालेकी रहेछिन्,’डीएसपी खनालले भने,‘छोरीको खोजतलास गर्दा सडेगलेको अवस्थामा खाल्डोमा लास भेटियो।’ उनका अनुसार छोरीको हत्या गरेर कुमालसँग सोही दिन विवाह गरी भागेकी थिइन् ।
घरमा कोही नभएको मौका पारी छोरीसहित सम्पर्कविहीन भएको भन्दै साउन १२ गते ससुरा सूर्यबहादुर रानाले प्रहरीमा खोज तलासका लागि निवेदन दिएका थिए।उनी सोही दिन पुन:विवाह गरी भागेकी थिइन् ।
लक्ष्मीका श्रीमान मिनबहादुर राना रोजगारीको लागि तीन महिनादेखि भारत छन।प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गर्दै आएको जनाएको छ।नाबालिकाको शव प्रहरीले सूर्यबहादुरलाईनै बुझाएको खनालले बताए।आरोपित दुवै जनालाई आइतबार जिल्ला अदालतमा ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी १० को म्याद थप गरिएको डीएसपी खनालले जनाए।