
परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले जिल्लामै पहिलो पटक सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने भएको छ।नगरपालिकाले आज परासीमा रहेका वैंकहरु संगको छलफलपछि समाजिक सुरक्षा बापतको आगामी किस्ता वडाबाटै वितरण गर्ने निर्णय गरेको नगर प्रमुख धनपत यादवले बताउनुभयो।
बैकहरुले केहि आवश्यक सहजिकरण र सुरक्षाको प्रबन्ध गर्न आग्रह गरेको र त्यस्लाई नगरपालिकाले तत्कालै व्यवस्थापन गरी समाजिक सुरक्षा भत्ता बापतको रकम वडा बाटै वितरण गरिने उहाँले जानकारी दिनुभयो।आफुले चुनावको समयमा पनि वृद्धभत्ता वडाबाटै वितरण गर्ने प्रतिवद्धता जनाएको बताउदै त्यस्लाई कार्यान्वयनमा ल्याउन काम सुरु गरेको नगर प्रमुख यादवको भनाई छ ।
अहिले वृद्धवृद्धा भत्ता बुझ्न चर्को घाममा बैंकको भिडमा लाईन बस्नुपर्ने बाध्यता रहेको बताउदै नगर प्रमुख यादवले अब त्यस्तो बाध्यताको अन्त्य गरिने बताउनुभयो।नगरपालिकाका सबै वडाको केन्द्रबाट वृद्धभत्ता वितरण गर्ने गरी नगरपालिकाले बैंकहरु संग छलफल गरेको हो।
रामग्रामका १८ ओटा वडा मध्ये १ देखि ६ नम्बर सम्मका वडाबासिलाई परासी पाईपर्ने र बाँकि सबै वडालाई सम्बन्धीत वडा बाटै भत्ता वितरण गर्ने नगरपालिकाको तयारी रहेको प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले बताउनुभयो।बैंकहरुले निश्चित दिन तोकेर सम्बन्धीत वडामा गएर भत्ता वितरण गर्ने छन।
वडामा भत्ता बुझ्न छुटेकाहरुले सम्बन्धीत बैंकमा आएर भत्ता बुझ्न सक्नेछन।बैंकर्स क्लब परासीका अध्यक्ष डिल्लीराज खनालले बैंकको केन्द्रिय तहबाट अनुमति लिएर काम सुरु गर्ने बताउनुभयो।
रामग्राम नगरपालिकामा वृद्धभत्ता बुझ्ने मात्र २२ सय २४ जना वृद्धवृद्धा सहित जेष्ठ नगारिक दलित भत्ता, एक महिला, विधवा आर्थिक सहायता,अपाङ्गता लगाएतका समाजिक सुरक्षा भत्ता बुझ्ने कुल ५ हजार १ सय ८६ जना छन् । उनिहरु सबै प्रकारका भत्ता बुझ्न परासी आउनुपर्ने बाध्यता रहेको छ । परासीमा रहेका १० ओटा बैंकले समाजिक सुरक्षा भत्ता वितरण गर्दे आएका छन। जस बापत मासिक डेढ करोड बढि खर्च हुन्छ।समाजिक सुरक्षा भत्ता लिने समयमा बैंकहरुमा भिड हुने भएकाले नागरिकले सास्ती खेप्दै आएका छन।