
काठमाडौँ।अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका हुन्।
उनले आफूमाथि लागेको आरोपको छानबिन गर्न बनेको संसदिय समिति लाई सघाउन राजीनामा दिएकाे बताएका छन्।
राजीनामाअघि संसद्मा बोल्दै शर्माले कुनै गल्ती नगरेको बताए। शर्माले बजेटमा कुनै त्रुटी नभएको बताएका छन्। उनले भने, ‘करका दर हेरफर गर्दा दुईजना सचिव र दुई जना महानिर्देशक मात्र संलग्न छन्।’ अर्थमन्त्री शर्माले साढे ११ बजे सिंहदरबारबाट मन्त्री क्वाटर पुगेको बताए। उनले भने, ‘निर्देशन दिएर म राति निस्किएँ, भोलिपल्ट बिहान ६ बजे मात्र मन्त्रालय पुगेको हुँ।’
अर्थमन्त्री शर्माले सीसीटीभी प्राविधिक विषय भएकाले आफूलाई जानकारी नभएको बताए। उनले सीसीटीभी फुटेज हटाउने कुनै कारण नभएको भन्दै त्यो प्राविधिकसँग जानकारी हुने विषय भएको बताएका छन्।
सभामुख अग्नीप्रसाद सापकोटाले अर्थमन्त्रीका रूपमा शर्मालाई बोल्ने समय दिएपछि एमाले सांसद्हरू बैठक छोडेर बाहिरिएका थिए। अर्थमन्त्री शर्मा बोल्नुअघि एमालेको तर्फबाट धारणा राखेका सांसद् योगेश भट्टराईले अर्थमन्त्रीको राजीनामा एक मात्र विकल्प भएको बताएका थिए। उनले शर्माले राजीनामा नदिँदासम्म उनलाई अर्थमन्त्रीको रूपमा स्वीकार गर्न नसकिने बताएका थिए।