
सुनवल।लुम्बिनी प्रदेश सरकारले वातावरण संरक्षणसंग सम्बन्धित थप महिला लक्षित कार्यक्रम ल्याउनुपर्नेमा एक कार्यक्रममा सहभागी महिलाहरुले जोड दिएका छन्। वन, खानेपानी तथा सरसफाई लगायत कार्यमा पुरुषहरु भन्दा महिलाहरु धेरै सहभागी हुने भएकाले वातावरण संरक्षणमा महिलाहरूको अहम भूमिका रहने उनीहरूको भनाई छ।
वन वातावरण तथा भू संरक्षण मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा सञ्चारिका समूह लुम्बिनी प्रदेशको समन्वयमा मंगलबार परासीमा आयोजित वातावरण संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा विभिन्न संघ संस्थामा आबद्ध महिलाहरुले सो कुरा राखेका हुन्। उनीहरूले व्यवस्थित ढल निकास र फोहोर व्यवस्थापन कार्यमा अनुगमन र मूल्याङ्कन प्रणाली प्रभावकारी हुन नसकेको गुनासो राखेका थिए।
सदरमुकाम परासी लगायत जिल्लाका अन्य स्थानमा प्रदुषण बढ्दै गइरहेको अवस्थामा घर,कार्यालय देखि अन्य बाहिरी क्षेत्रमा पनि महिलाहरु धेरै सहभागी हुने भएकाले वातावरण संरक्षणमा महिलाहरुले अनुकूल व्यवहार गर्नु पर्ने सञ्चारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलले बताउनुभयो।
कार्यक्रममा मन्त्रालयका योजना महाशाखा प्रमुख नारायन देवकोटाले समृद्धि र दिगो विकासका लागि वैज्ञानिक वन व्यवस्थापन सँगै वातावरण संरक्षणको आवस्यकतामा जोड दिनु भयो । ग्लोबल वार्मिङले हिमालहरू पग्लिने क्रममा रहेकाले समुन्द्रमा पानीको सतह बढ्दै गएको र जैविक विविधतामा ह्रास आउने लगायत विभिन्न प्रकारका वातावरणीय समस्या देखा पर्दै गएकाले वनको सदुपयोग सँगै संरक्षणमा पनि जोड दिन तथा पुराना रुखहरूको प्रयोग गर्ने र नयाँ बिरुवा रोप्नु पर्ने सुझाव दिनुभयो।खाली खेतहरुमा उत्पादनमूलक रूखहरू रोप्नु पर्नेमा प्रमुख देवकोटाले जोड दिनु भयो। विभिन्न प्रदुषणको कारक नै मानिस भएकाले यसको न्युनिकरण घरबाटै सुरु गर्नुपर्ने उहाँको भनाई थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्माले जिल्लाका दक्षिण भेगमा गुइठाको प्रयोग अत्यन्त हुने भएकाले पनि प्रदुषण बढाएको बताउनुभयो ।
कार्यक्रममा जिल्लाका विभिन्न संघसंस्था,कार्यालय,निकायका महिला प्रतिनिधि, पत्रकार,सञ्चारकर्मी महिला लगायतको उल्लेख सहभागिता रहेको थियो।