
काठमाडौँ।पंकजविक्रम नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष पदमा निर्वाचित भएका छन्।सोमबार काठमाडौँमा भएको निर्वाचनमा कर्माछिरिङ शेर्पालाई हराउँदै नेम्वाङ नेपाली फुटबलको नियामक संस्थाको अध्यक्ष बनेका हुन्। यसअघिको कार्यकालमा शेर्पा अध्यक्ष रहँदा नेम्वाङ वरिष्ठ उपाध्यक्षको भूमिकामा थिए।
अध्यक्ष पदका लागि भएको मतदानमा नेम्वाङले ४५ मत प्राप्त गरे। उनविरुद्ध प्रतिस्पर्धामा रहेका शेर्पाले ३९ मत ल्याए। अध्यक्षका अर्का उम्मेदवार राजिव पौडेलले भने एक मत पनि पाएनन्।
यसैगरी वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का निर्वाचित भएका छन्। नेम्वाङ प्यानलबाट उम्मेदवारी दिएका खड्काले ४४ मत ल्याए। शेर्पा प्यालनका शिक्षित पराजुलीले भने ४० मत प्राप्त गरे।
वैशाख २०७५ मा भएको निर्वाचनमा शेर्पा पहिलो पटक अध्यक्षमा निर्वाचित हुँदा नेम्वाङ सर्वाधिक मतका साथ उपाध्यक्ष पदमा चुनिएका थिए। चार उपाध्यक्षमा चुनिएकामा नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष बनाइएको थियो। यी दुई एकै प्यानलबाट निर्वाचनमा होमिएका थिए। यसपटक भने दुवै आ–आफ्नै प्यानलसहित निर्वाचन लडेका थिए।
तत्कालिन एन्फा अध्यक्ष गणेश थापाविरुद्धको अभियानमा शेर्पा र नेम्वाङ एकै ठाउँमा थिए। थापा एन्फाबाट बाहिरिएको केही समयपछि यी दुई नेतृत्वमा पुगेका थिए। सँगै निर्वाचन जितेर एन्फा चलाउने स्थानमा पुगेको डेढ वर्षपछि नै यी दुईबीच खटपट सुरु भएको थियो। त्यसपछि नेम्वाङ सधैँ शेर्पाविरुद्ध उभिरहे। एन्फाभित्र विपक्षीको भूमिका निर्वाह गरे।
नेम्वाङले शेर्पामाथि विभिन्न आरोप लगाएका छन्। निर्वाचनअघि नेम्वाङले शेर्पालाई आर्थिक अनियमिता गरेको, निरंकुशता लादेको, व्यक्तिवादी चरित्र प्रस्तुत गरेको, फुटबल विकासभन्दा पनि व्यक्तिगत स्वार्थमा केन्द्रित भएको आरोप लगाएका थिए।
शेर्पाले भने कोभिड–१९ महामारीका कारण सोचे अनुसारको काम गर्न नसकेकाले अधुरो रहेका काम सक्न आफू फेरि अध्यक्ष बन्नुपर्ने जिकिर गर्दै आएका थिए। नेम्वाङलगायतले असहयोग गरेकाले पनि आफूले एन्फामा अपेक्षाकृत काम गर्न नसकेको दाबी गरेको थिए। यद्यपि उनले सहिद स्मारक लिग, नेपाल सुपर लिग, जिल्ला जिल्लामा ग्रासरुट फुटबल कार्यक्रम, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आयोजना लगायतलाई आफ्नो सफलताका रूपमा प्रस्तुत गरेका थिए।
२०७२ सालमा थापा फिफाबाट १० वर्षको प्रतिबन्धमा परेपछि अध्यक्षका लागि भएको निर्वाचनमा नेम्वाङले शेर्पालाई सहयोग गरेका थिए। त्यसबेला शेर्पा नरेन्द्र श्रेष्ठसँग पराजित भएका थिए। श्रेष्ठ नेतृत्वको कार्यसमितिमा सदस्य रहेका नेम्वाङ र निर्वाचन हारेका शेर्पा लामो समय एकै ठाउँमा रहे।
पूर्वी झापाको धुलाबारीका नेम्वाङ फुटबल खेलाडीका रूपमा स्थापित नभए पनि फुटबलको राजनीतिमा भने राम्रैसँग स्थापित भए। स्थानीयस्तरको फुटबल प्रतियोगितामा सीमित उनको करियर राजनीतिमा भने केन्द्रीय स्तरसम्म पुग्न धेरै समय लागेन।
नेम्वाङ रोलिङ क्लब हुँदै झापा जिल्ला फुटबल संघमा छिरेका थिए। २०५९ सालमा पहिलो पटक एन्फाको केन्द्रिय सदस्य बनेका उनी त्यपछिका चार कार्यसमितिमा लगातार सदस्यको भूमिकामा रहे। यसअघिको निर्वाचनमा भने उनी चार उपाध्यक्षमा निर्वाचित भएका थिए। उपाध्यक्षमा निर्वाचित भएको एक वर्षपछि वरिष्ठ उपाध्यक्षमा चयन भएका उनी अहिले आएर सर्वोच्च पदमा पुगेका छन्।