
गुल्मी। गुल्मिमा आफ्नै विद्यालयकी छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शिक्षकलाई पक्राउ गरेको छ।
जिल्लाको रूरूक्षेत्र गाउँपालिका वडा नम्बर ३ थानपतीस्थित प्रतिभा आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्ने छात्रामाथि यौन दुर्व्यवहार गरेको उजुरी आएपछि उक्त बिधालयका शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।
घटना १५ दिन पहिलेको भए पनि अभिभावकले ढिलोगरी उजुरी दिएपछि बुधबार मात्रै ती शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले बताए । ‘घटना जेठ १७ गतेको रहेछ, तर अभिभावकले बुधबारमात्रै जाहेरी दिनुभयो, जाहेरी प्राप्त भएपछि बुधबार नै उनलाई पक्राउ गरिएको छ,’ प्रहरी नायब उपरीक्षक खरेलले भने।
खरेलले बुधबार पक्राउ परेका शिक्षक उपर बिहीबार जिल्ला अदालतमा मुद्दा दर्ता गरी थप अनुसन्धानको काम सुरू गरिएको बताए।
पीडक शिक्षक र पीडित भनिएकी छात्रा एउटै विद्यालयको भएकोले प्रहरीले आरोपितको समेत नाम गोप्य राखेको छ।