मन्दिरमा लगानी गर्ने विषय

English English Nepali Nepali

परासी।भौतिकवाद र आध्यात्मिकवादका छुट्टाछुट्टै पाटो/बिषयहरु छन त्यतातर्फ नजाऔँ।लगानी गरेपछि हर कसैले प्रतिफलको आसा राखेको हुन्छ अर्थात नाफा/घाटाको पुर्वानुमान गरेरै लगानी गरेको हुन्छ।हो हरेक लगानीले आर्थिक पक्षलाई मात्र फाइदा नगर्ला।सामाजिक/साँस्कृतिक,पर्यटकीय पक्षलाई समेत माथि उठाउने प्रयास गरेको हुनसक्छ र हुन सक्नु पनि पर्छ।कोही दीनदुखि,असहायलाई गर्ने सहयोग पनि लगानी नै हो किनभने उ त्यहि सानो सहयोगबाट आफ्नो जिविकालाई सुधार गर्न सक्छ। सरकारी लगानी पनि उत्पादनमूलक क्षेत्रमा या त कमजोर वर्गको उत्थानमा हुनुपर्छ।

मन्दिरमा लगानी गर्ने विषय र धार्मिक क्षेत्रमा लगानी गर्ने विषय फरक पाटो हुन्। धार्मिक क्षेत्रले एउटा बृहत पाटो समाएको हुन्छ भने मन्दिर त्यसको एउटा सामान्य अंश मात्रै हो तर मन्दिरलाई मात्र धार्मिक क्षेत्रको रुपमा बुझ्दै आइएको छ भन्दा फरक नपर्ला। धार्मिक क्षेत्र भनेपछि आध्यात्मिकता जोडिन्छ तर हामीले देखेको यश क्षेत्रको लगानीमा भने केवल भौतिक बस्तु निर्माण जस्तो कि मन्दिर, मुर्ति, घण्टा, दियो, गजुर आदि-आदि क्षेत्रलाई मात्र जोड दिइएको पाइन्छ । पहिला मन्दिर बनेको ठाउँहरु कुनै परापुर्वकालको इतिहास जोडिएको हुन्थे, आस्था-बिश्वास जोडिएको हुन्थ्यो र मन्दिर बनाइन्थ्यो अचेल सम्पत्ति हुनेले घरघर मन्दिर बनाउन थालेका उदाहरण पनि प्रशस्त छन।

यसरी धार्मिक विशेषतालाई कुल्चेर निर्माण गरिने मन्दिरको साँस्कृतिक विशेषता के हो ? प्रश्न सबैले मनन गर्नु जरुरी छ। कसैले ब्यक्तिगत लगानीमा मन्दिर निर्माण गर्छ भने अर्को कसैले फेरि टाउको दुखाउन उपयुक्त नहोला तर विषय उत्पादनमूलक क्षेत्रको विषय हो र आम जनजिविका सुधार गर्ने विषय हो। यतिबेला चुनावी घोषणापत्रमा र कतिपय बजेट विनियोजन प्रक्रियामा समेत मन्दिरको लागि भनेर यति लाख/करोड विनियोजन भनेर समाचार आइराखेका उदाहरण पनि प्रशस्त छन् भने धेरैजसो स्थानीय निकाय यो प्रक्रियामा अछुत छैनन्। तर सगरमाथाको देशमा भ्युटावर बनाउनु र पुजाको प्रक्रियाका लागि लाखौँ/करोडौं खर्चेर मन्दिर बनाउनु विषय उस्तै हुन्।

तसर्थ मन्दिरमै लगानी गर्ने हो भने मन्दिरमा होइन ठूलो क्षेत्र भएको धार्मिक क्षेत्रमा लगानी गरौँ,जहाँ पुजा गर्ने र घण्टा बजाउने मात्र होइन प्राकृतिक अनुभव लिन पाइने होस्, ध्यान तथा योगा केन्द्रहरुतर्फ जोड दिइयोस्, जीवनलाई उत्प्रेरित गर्ने खाले पुस्तकहरु भएको पुस्तकालय होस्, नैतिक शिक्षालाई जोड दिइयोस्, भुत, वर्तमान र भविष्यको बारेमा व्याख्या गरिएको होस् साथै यसलाई अन्तरिक्ष बिज्ञान सँग समेत जोड्न सकियोस् र डिजिटल प्रविधिलाई पनि आवश्यकतामा जोड दिइयोस् , जीवनउपयोगी भनाईहरुले भित्ताहरुमा केरिएका हुन, अपराधको लज्जाबोध हुने वातावरणको निर्माण होस्, मानविय र प्राकृतिक सेवामा लाग्न प्रेरणा मिल्ने होस्। चराचुरुङ्गीको गुन्जान, शितल बतास, हरियाली अझ भनुँ जैविक विविधताले भरिपुर्ण होस्। दानपत्रहरुमा उठेको रकम त्यहिँको पर्यटकीय क्षेत्रमा बिकास गर्न र दीनदुखिको उपचारमा प्रयोग होस्। मन्दिर केवल पुजारीले पुजा गरिदिने र टीका लगाइदिने मात्र होइन कि विद्यालय जस्तै एउटा पाठशाला बन्न सकोस्। अज्ञानीले ज्ञान पाउने होस, थाकेकोले आराम पाउने होस,असहायले सहारा पाउने होस्। अझ सकिन्छ सबै धर्मावलम्बीहरु समावेश हुन सक्ने गरि संरचना निर्माण गरेपनि हुन्छ सकिँदैन स्थानीय आवश्यकलाई महत्त्वबोध गरेर निर्माण गर्न सकिन्छ।

धार्मिक क्षेत्रभित्र पर्याप्त मात्रामा विभिन्न खाले फलफूलका बिरुवाहरु लगाउन लगानी गरियोस् जुन एकातर्फ हरियाली, शितल, चराचुरुङ्गीको बासस्थान त अर्कोतर्फ फलफूल मार्फत आम्दानी गरि उत्पादनमा जोड गरि व्यवसाहिक पाटोलाई समेत उकास्न सकिने होस्। विभिन्न खाले फुलहरु रोप्न लगानी गर्नाले फुलखेती मार्फत आर्जन गर्न सकिन्छ। यस्तै मौसमी अवस्था अनुकुल जडिबुटीहरुको बिरुवा रोपेर समेत आम्दानी स्तर बढाउन सकिन्छ। यसरी धार्मिक क्षेत्रलाई केवल दुई हात जोडेर पुजा गर्ने र शिर निहुराउने ठाउँ मात्र नबनाएर श्रमप्रति पनि सम्मान र प्रेरित गर्न गराउन सकिन्छ। यसरी नयाँ योजनाहरु थप्दै जाँदा धार्मिक आस्थाका अतिरिक्त धेरैले रोजगारी पाउने अवस्था समेत सिर्जना हुन पाउँछ भने पर्यटकीय क्षेत्र पनि सबल बन्न पुग्दछ।

तसर्थ धार्मिक क्षेत्र केवल अध्यात्मवादको कुहिरो भित्र रोमलिएको जगडिएको विषय होइन सामाजिक-साँस्कृतिक रुपमा हरकोहीले बुझ्ने र व्याख्या गर्ने मानवीय र प्राकृतिक सेवामा जोडिएको व्यवहारिक पाटो बन्न सकोस् जहाँ मन्दिर भित्र धर्म होइन कि धार्मिक क्षेत्रभित्र मन्दिर आवश्यकताको आधारमा बन्न सक्ने कुरा होस्। कट्टर धार्मिक आस्थाका सामान्य पुजाआजाका मन्दिर आफैंमा छँदैछन् तर पर्यटकीय हिसाबले सोचेर लगानी गर्ने धार्मिक क्षेत्र जहाँ कुनै न कुनै रुपमा जंगल या नदी सँग जोडिएको भयो भने यो आफैमा बृहत क्षेत्र बन्न पुग्छ भने बिकास प्रक्रियामा जोड दिनुपर्ने क्षेत्र समेत बढी हुन आउँछ र पर्यटकले समेत पर्याप्त समय बिताउन सक्छ।

अहिले सबै वडामा मात्र होइन टोलटोलमा मन्दिर छन, सबैलाई आफ्नो नजिकको मन्दिरमा बिकास भए राम्रो लाग्छ नै तर यो भन्दा माथि उठेर बढीमा पनि एउटा पालीकामा एउटा दीर्घकालीन पर्यटकीय बिकास र जैविक विविधता तथा प्राकृतिक सन्तुलनलाई मिलाएर धार्मिक क्षेत्र बनाउन सके पर्यटकीय,धार्मिक, समाजिक, साँस्कृतिक र शैक्षिक रुपमा समेत गाउँको बिकास गर्न सकिन्छ। यद्यपि सबै जिल्लाहरूमा यो विषय उपयुक्त हुन नसकेपनि केही पहाडी जिल्लहरुका लागि भने उपयुक्त हुन सक्छ। ~ श्रीराम स्वरुप

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?