ट्रेन्डीङ्ग

वालिङ नगरपालिकाको नवौं नगर सभा सम्पन्न, वडा थप गर्ने निर्णय

तोलाकान्त बगाले

वालिङ, २८ पुस ।

वालिङ नगरपालिकाको नवौं नगरसभा मंगलबार सम्पन्न भएको छ । नवौं नगरसभाले विभिन्न कार्यसूचिमाथि छलफल गरी पारित गरेको छ । नगर प्रमुख दिलीपप्रताप खाँणको अध्यक्षतामा भएको सभामा नगर उपप्रमुख कल्पना तिवारीले पेश गर्नुभएको आर्थिक ऐन २०७७ मा अनुसूति थप गरी करको दर निर्धारणसम्बन्धी प्रस्ताव, वातावरण तथा विपद ब्यवस्थापन समितिका संयोजक गीता रनपालले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७७, न्यायिक समिति संयोजक कल्पना तिवारीले प्रस्तुत गर्नुभएको न्यायिक समितिको कार्यविधि सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७७, योजना तथा बजेट तर्जुमा समिति संयोजक कल्पना तिवारीले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत वार्षिक बजेट पूजीँगततर्फ योजनागत बजेट रकमान्तर, उपप्रमुख तिवारीले प्रस्तुत गर्नुभएको न्यायिक समितिको प्रतिवेदन, वडा नं. १४ का वडा अध्यक्ष झम्मरबहादुर श्रेष्ठले प्रस्तुत गर्नुभएको वडा नं. १४ लाई विभाजन गरेर दुई वटा वडा कायम गरी कूल १५ वटा वडा कायम गर्ने प्रस्ताव तथा नगर प्रवक्ता केदार काफ्लेले प्रस्तुत गर्नुभएको नगर कार्यपालिकाले गरेका निणर्यहरुलाई नगरसभाले पारित गरेको छ ।


स्याङ्जाको वालिङ नगरपालिकाको नवौं नगरसभाबाट १४ नं. वडालाई विभाजन गरेर दुई वटा वडा कायम गर्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । आज भएको नगरसभामा वडा नं. १४ का वडाअध्यक्ष झम्मरबहादुर श्रेष्ठले हालको वालिङ नगरपालिकाको १४ नं. वडालाई विभाजन गरी दुई वटा वडा कायम गर्न १५ वटा वडा कायम गर्नकालागि नगरसभामा निणर्यार्थ पेश गर्नुभएकोमा सर्वसम्मतले पारित गरेको नगर प्रवक्ता केदार काफ्लेले बताउनुभयो ।

अन्य वडाको तुलनामा वडा नं. १४ भौगोलिकरुपमा ठूलो र विकट भएको, स्रोत साधनको असुविधा भएको लगायतका कारणहरुले छुट्टै वडा कायम गर्न माग गर्दै प्रभावित क्षेत्रका एकहजार ६ जनाको हस्ताक्षर तथा भेलाले निणर्यहरु गरेर वडामा र वडाले नगर कार्यपालिकामा बुझाएको नगर प्रवक्ता काफ्लेले बताउनुभयो ।

१४ नं. वडाका २५ वटा टोल विकास संस्थाका पदाधिकारीहरु, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजिवीहरुको भेलाले यही पुस १० गते वालिङ नगरपालिकाको साविकको १० नं. वडा, साविक थुमपोखरा गाविसको वडा नं. ९ कोखे टोल र साविकको कालिकाकोट गाविसको २ नं. वडाको हुग्दी टोललाई समावेश गरी थप वडा कायम गर्ने निणर्य स्थानीय वडाबासीले गरेका वडा नं. १४ का वडा अध्यक्ष झम्मरबहादुर श्रेष्ठले बताउनुभयो ।

अध्यक्ष श्रेष्ठका अनुसार यही पुस १७ गतेको वडाको बैठकले स्थानीयहरुबाट निणर्य भई आएको प्रस्तावलाई नगर कार्यपालिका बैठकमा पेश गरेकोमा यही पुस २३ गतेको कार्यपालिका बैठकले नगरसभामा पेश गर्ने निणर्य गरेको थियो ।

“विभिन्न आठ वटा कारणहरुसहित वडा विभाजन गरी छुट्टै वडा बनाउन स्थानीयले माग गर्नुभएको थियो” नगर प्रमुख दिलीपप्रताप खाँणले भन्नुभयो, “यस विषयमा सम्बन्धित क्षेत्रका बहुमत नागरिकको धारणाका आधारमा नगरसभामा पेश भई सभाबाट पारित भएको हो ।”

नगरले पारित गरेको निणर्यलाई गण्डकी प्रदेश सभाबाट पारित भएमा केन्द्रमा जाने र केन्द्रले पारित गरेमात्रै वडा विभाजन हुने नगर प्रमुख खाँणले बताउनुभयो ।

“अन्य वडाको तुलनामा भौगोलिक दृष्टिले ठूलो भएकाले पनि यस वडालाई अन्यको तुलनामा नगरबाट धेरै रकम विनियोजन गरिँदै आईएको छ” नगर प्रमुख खाँणको भनाई थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?