ट्रेन्डीङ्ग

पाँचौ झापा गोल्डकपको उपाधी आर्मीलाई

प्रविण विद्रोह,३०फागुन,झापा  । पाँचौ झापा गोल्डकपकाे उपाधि डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले जितेको छ।

आज सोमबार विर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा घरेलु टोली झापा-११ लाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।

जीतसँगै आर्मीले नगद १२ लाख ५५ हजार रुपयाँ प्राप्त गरेको छ भने उपविजेता भएको झापाले नगद ६ लाख पाँच हजार रुपैयाँमा चित्त बुझाएको छ । आर्मीले योसँगै चौथोपटक झापा गोल्डकपको उपाधि हात पार्न सफल भएको छ।

आर्मीकाे उपाधिका लागि पहिलो हाफको १८ औँ मिनेटमा सुमन अर्यालको पासमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए भने अर्को गोल २१ औँ मिनेटमा जर्जप्रिन्स कार्कीले गरेका थिए । मैदानको मध्यभागबाट पेनाल्टीएरियामा पाएको बललाई गोलरक्षक अघि बढेको मौकामा गोल गरे ।

लगत्तै खेलको २५ अाैँ मिनेटमा झापाका लागि विमल घर्तीमगरले हेडमार्फत गोल गर्दै २-१ काे अवस्थामा पुर्‍याउन सफल भए। शिवे उल्रिचको क्रसमा उनले गोल गर्दै आर्मीसँग गोलअन्तर घटाएका थिए। पहिलो हाफमा भएको २-१ गोल नै निर्णायक बन्न पुग्यो । दोस्रो हाफमा खेललाई झापाले पुर्ण नियन्त्रणमा लिएपनि गोल गर्न नसक्दा उपविजेतामा चित्त बुझाउनु पर्यो।

फाइनल खेलको म्यान अफ द म्याच आर्मीका टेकबहादुर बुढाथोकी घोषित भए । उनले ९ हजार ९९९ रुपैयाँ पुरस्कार पाए । पुरस्कारको प्रायोजन युवा व्यवसायी श्याम प्रसाईंले गरेका हुन् ।

प्रतियोगिताको ‘मस्ट भ्यालुएबल प्लेयर’ झापाका डिफेन्डर देबेन्द्र तामाङ भए । उनले यमाहा कम्पनीको एक थान मोटरसाइकल पाए । गोल्डकपको सर्वाधिक गोलकर्ता विमल घर्तीमगर हुँदै नगद २५ हजार प्राप्त गरे । उनले प्रतियोगितामा खेलेका तीन खेलमा पाँच गोल गरेका थिए । प्रतियोगिताको बेस्ट डिफेन्डर झापाका मनोज राई, बेस्ट मिड फिल्डर झापाकै आन्द्रेस निया, बेस्ट किपर आर्मीका विकेश कुथु र वेष्ट कोच आर्मीका नवीन न्यौपाने घोषित भए । उनीहरुले जनही २१ हजार रुपैयाँ पाए ।

फागुन २१ गतेदेखि सुरु भएको झापा गोल्डकपमा भारतका दुई टिम, घरेलु टोली झापा–११ र सातवटा ए डिभिजन क्लबसहित दश टिमको सहभागिता रहेको थियो ।

झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले झापाको सानका रुपमा रहेको झापा गोल्डकप सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले प्रतियोगिताबाट झण्डै ५० लाख रुपैयाँ बचत भएको आयव्यय सार्वजनिक गरे । फागुन २१ गते पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको प्रतियोगिताकाे समापन पुर्व गृहमन्त्री एवम् कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले समापन गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal