
प्रविण विद्रोही,२८ फागुन,झापा । मोफसलकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता अन्तर्गत झापाको विर्तामोडमा जारी नेपाल आइस झापा गोल्डकपमा संकटा क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै घरेलु टोली झापा ११ फुटबल क्लब प्रतियोगिताको फाइनल पुगेको छ ।
आज बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको सेमिफाइनल खेलमा ए डिभिजन टोली संकटा क्लबलाई २–० गोलले हराउँदै घरेलुु टोली झापा -११ उपाधि नजिक पुगेको हो । झापाका लागि दुवै गोल विमल घर्तीमगरले गरेका हुन् ।
दोस्रो सेमिफाइनलको १६ औं मिनेटमा विमलले गोल गरेका थिए । एन्द्रियस नियाको पासमा विमलले विपक्षी गोलकिपरलाई छलाउँँदै नजिकबाट गोल गरेका थिए । झापा ११ का लागि विमलले अर्को गोल ५७ औं मिनेटमा गरेका थिए । मैदानको दायाँबाट विकास मेराल्गियाले दिएको पासलाई पेनाल्टी बक्स भित्रबाट विमलले सहज गोल गरेका हुन् । प्रतियोगितामा विलमको गोलसंख्या ४ पुगेको छ । क्वार्टरफाइनलमा उनले पेनाल्टीमार्फ २ गोल गरेका थिए ।
पहिलो हाफमै संकटाले पनि पटक पटक गोल फर्काउने मौका पाए पनि सफल भने हुन सकेन । यानिकले नजिकबाट गरेको प्रहारलाई झापाका गोलकिपर दीप कार्कीले जोगाएका थिए । ३० औं मिनेटमा यानिककै प्रहारलाई विश्वास श्रेष्ठले गोललाइनबाट क्लियर गरेका थिए । ३३ औं मिनेटमा फोडे फोफेनाको क्रसमा यानिकको हेड प्रहार दीपले सहजै रोकेका थिए । दोस्रो हाफमा संकटाले खासै आक्रमण बनाउन सकेन ।
आजको खेलको प्लेयर अफ दि म्याच झापा ११ का विमल घर्ती मगर भए । उनले नगद ९९९९ रुपैयाँ प्राप्त गरे ।
आजको जितसँगै घरेलुु टोली झापा ११ ले साेमबार हुने फाइनल खेलमा ए डिभिजन टाेली त्रिभुवन आर्मि क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ प्राप्त गर्नेछ ।