
प्रविण विद्रोही,२३ फागुन,झापा। मोफसलकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता अन्तर्गतको पाँचौ नेपाल आइस झापा गोल्डकपकाे आज भएको पहिलो क्वाटरफाइनल खेलमा एपीएफलाई २-१ गोल अन्तरले पराजित गर्दै सातदोबाटो फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ।
झापाको विर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगितामा सातदोबाटोको जितका लागि खेलको ८२औँ मिनेटमा सुशील राईले पहिलो गोल गरेभने ८५औँ मिनेटमा नीरज चौधरीले सातदोबाटोको अग्रतालाई दोब्बर बनाउँदै २-० काे अवस्थामा पुर्याएका थिए।
एपिएफका लागि अतिरिक्त समयमा दिपेश धिमालले सान्त्वना गोल फर्काएका थिए। प्रतिस्पर्धात्मक खेलकाे पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।
जीतसँगै सातदोबाटो क्लब पाँचौँ संस्करणको नेपाल आइस झापा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ भने एपीएफ खेलबाड बाहिरिएको छ । सातदोबाटोको जीतका लागि पहिलो गोल गर्ने सुशील राई आजको खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे ।
मंगलबार दोस्रो क्वाटरफाइनल खेल दिउँसो २:३० बजे संकटा क्लब र थ्री स्टार क्लबबीच हुने छ । फागुन ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार पाउनेछन्, भने उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको ‘मस्ट भ्यालुएवल प्लेयर’ले एक थान मोटर साइकल पाउनेछ । यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगर २१ हजार रुपैयाँ दिइने आयोजकले बताएको छ। प्रतियोगितामा नेपालका ८ र भारतका दुई क्लबको सहभागिता रहेको छ ।