ट्रेन्डीङ्ग

नेपाल आइस पाँचौ झापा गोल्डकपकाे तयारी पूरा

प्रविण विद्रोही,१९ फागुन,झापा  । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता अन्तर्गतको पाचौं झापा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ ।

“हाम्रो गौरव हाम्रो मान, झापा गोल्डकप हाम्रो सान”काे नारासहित यही फागुन २१ देखि ३० गतेसम्म आयोजना हुन लागेको नेपाल आइस पाँचौ गोल्डकप आयोजक समितिले आज बिर्ताबजार स्थित डोमालाल रंगशालामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताकाे सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ।

गोल्डकपका लागि झण्डै दुई महिना लगाएर उत्कृष्ट र सानदार मैदान तयार पारिएको छ । मैदानमा करिब १० हजार दर्शक बस्न मिल्ने गरी बाँसको प्याराफिट निर्माण गरिएको छ भने दर्शकको चाप बढ्न सक्ने अनुमानका साथ प्याराफिटकाे अघिल्लोभागमा प्लास्टिकको कुर्सी राखिएको छ।

प्रतियोगितामा घरेलुु टोली झापा -११ सहित ‘ए’ डिभिजन क्लब नेपाल पुलिस , त्रिभुवन आर्मी क्लब, थ्री स्टार क्लब, संकटा क्लब, एपिएफ, जावलाखेल युथ क्लब , सातदोबाटो युथ क्लब, सहभागी हुनेछन् भने भारतका दुई टिम एम एफसी दार्जिलिङ र आरपी एफसी सिक्किम सहित १० टिमले प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् ।

झापा गोल्डकपको विजेताले १२ लाख ५५ हजार पाउनेछन् । उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको ‘मस्ट भ्यालुएवल प्लेयर’ले एक थान मोटर साइकल पाउनेछ । यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।

अघिल्लो वर्ष झैँ पाँचौ संस्करणको उद्घाटन समारोहमा झापा जिल्लाका दुईजना पुराना फुटबल खेलाडीलाई नगद १५ हजार सहित सम्मान गरिने र उक्त रंगशालाकाे जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रूपैयाँ सहयोग प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भई सकेको जनाउँदै आयोजक समिति अध्यक्ष विनोद बस्नेतले अब दर्शक र खेलाडीको मात्रै प्रतिक्षा रहेको बताए ।

प्रतियोगिता सम्पन्न गर्न एक करोड ४० लाख रूपैयाँ खर्च अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई नगद नौ हजार ९९९ रुपैयाँ प्रदान गरिने छ । पाँचौं संस्करणको झापा गोल्डकपमा नेपाल आइस बियरले मुख्य प्रायोजन गर्नेछ ।

गोल्डकपको उद्घाटन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र समापन कांग्रेस नेता कृष्ण सिटौलाले गर्ने आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal