
कपिलवस्तु,
कपिलवस्तुको बिजयनगर गाउँपालिकामा नदिजन्य पदार्थ निकासीको लागि खोलाहरु नखुल्दा चोरीनिकासी बढेको छ । यस आर्थिक वर्षमा पालिका भित्रका कुनै खोला पनि खुलेका छैनन् । खोला नखुले पनि दैनिक रूपमा चोरी निकासी भने हुने गरेको छ । गाउँपालिकाको चिराई खोला अन्तर्गत लोहोरौला नाकामा दिनदाहाडै चोरी हुने भए पनि प्रहरीले बेवास्ता गरेको छ ।
स्थानीयका अनुसार रातको समयमा खोला वाट चोरी गरी खोला नजिकै डम्पीङ गर्ने गरेका छन् । विभिन्न स्थानबाट पटक पटक बालुवा, गिट्टी, मिस्कट लगायतका नदिजन्य पदार्थ अबैधरुपमा चोरी तस्करी भए पनि सम्बन्धित निकायले चासो नदिँदा चोरी गर्नेहरूलाई थप टेवा पुगेको छ ।
चोरी गर्नेहरूले प्रहरीलाई समेत रकम दिएर मिलाउने गरेको बताएका छन् । स्रोतका अनुसार पक्राउ गरे पनि पाँच हजार दिएमा प्रहरी छोड्ने गरेको बताइन्छ । खडैचा प्रहरी चौकीका असईले सेटिङमै नदिजन्य पदार्थ अबैधरुपमा चोरी तस्करीमा सहयोग गरेको स्रोतले बताएको छ । बिजयनगर गाउँपालिका वडा १ का कार्यरत एक कर्मचारीले आफ्नै ट्याक्टर मार्फत चोरी गराएको बताइएको छ ।
केहि दिन अघि प्रहरीले पक्राउ गरेर पालिकालाई बुझाए पनि गाउँपालिकाले कुनै पनि कारवार्ही नगरी छोडेको स्रोत बतायो ।
यता गणेशपुर प्रहरी चौकीले भने वुधवार मात्र दुई वटा ट्याक्टर पक्राउ गरेको बताएको छ । लु ४ त ४७१३ र लु २ त ८९२८ नम्बर को ट्याक्टर पक्राउ गरेको गणेशपुरका प्रहरी निरीक्षक रण बहादुर विष्टले बताउनुभयो । विहिवार पालिकालाई बुझाउने विष्टको भनाई छ । चोरी तस्करी बढेको सूचनाका आधारमा गस्तीलाई थप कडाइ गरिएको उहाँले बताउनुभयो ।
विसवा खोला,जवावैराठ,चिराई खोला वाट दैनिक रूपमा चोरी तस्करी हुने गरेको छ । गाउँपालिका २०७८ साउन २३ गते पहिलो पटक र कार्तिकमा दोस्रो पटक सूचना जारी गर्दा समेत टेन्डर नपर्दा यस वर्ष नदिजन्य पदार्थ निकासी हुन सकेन । गत वर्ष पालिकाले अमानतमा गर्दा विवादमा आएकोले यस वर्ष अमानतमा नगरेको बताइएको छ ।