
प्रविण विद्रोहि फागुन ३ झापा। शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले अमेरिकी सहयोग परियोजना एमसिसि टेबुल गर्न लागेको भन्दै भोलि नेपाल बन्दको घोषणा गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्दको पूर्वसन्ध्यामा झापाको दमक र विर्तामोडमा मसाल जुलुस सहित कोणसभा गरेको छ।
आकस्मिक रूपमा भोलि नेपाल बन्दको घोषणा भएसँगै विप्लवका कार्यकर्ताले झापाको दमक र विर्तामोडमा प्रदर्शन गरेका हुन् । विर्तामोडकाे महानन्द चोकबाट सुरु भएको मसाल जुलुस सहितको र्याली मुक्तिचाेकमा आइपुगेर कोणसभामा परिणत भएको थियोे भने कोणसभालाई पार्टीका जिल्ला सचिव प्रशान्त थापा र जिल्ला सदस्य तथा मेचीनगर इन्चार्ज जितु तामाङले सम्बोधन गरेका थिए।
सभालाई सम्बोधन गर्दै जिल्ला सचिव थापाले राष्ट्रघात गर्न लागि परेका दलाल संसदीय व्यवस्थाका गद्दारहरूलाई जनताले सबै स्थानबाट बहिष्कार गर्नुपर्ने दिन आएको बताए । त्यस्तै सभालाई सम्बोधन गर्दै जिल्ला सदस्य जितुले डलरको प्रलोभनमा परेर नेपालको अस्मिता माथि बलात्कार गर्ने दलालहरूलाई देश निकाला गर्नुपर्ने र त्यसका लागि बलिदान गर्नुपरेपनि तयार रहेको भन्दै सबैले राष्ट्रघातका विरुद्ध संघर्ष गर्न उद्घोष गरे।
त्यस्तै दमकको गणतन्त्र चोकमा भएको मसाल जुलुस पश्चात्को कोणसभालाई पार्टीका जिल्ला कार्यालय सचिव सञ्जय राईले सम्बोधन गरेका थिए। उनले जनता र राष्ट्रमाथि कुठाराघात गर्ने कुनै पनि शक्तिलाई बहिस्कार गर्न सबै जनतालाई अपिल गर्दै भोलि हुने नेपाल बन्द सफल गर्न सबैमा अपिल गरे।
मसाल जुलुस तथा र्यालीमा राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर, देश बेच्न पाइँदैन , दलाल संसदीय व्यवस्था मुर्दावाद, लगायतका नाराबाजी गरिएको थियोे ।
पहिलेदेखि नै एमसिसीका विरुद्ध पटकपटक संघर्ष गरिरहेको उक्त पार्टीले राष्ट्रघाती एमसिसी सम्झौता कुनै पनि हालतमा पारित गर्न नहुने भन्दै विभिन्न चेतावनी दिँदै सडकमा प्रदर्शन गर्दै आएको छ।