ट्रेन्डीङ्ग

विप्लव पुत्र प्रकाश प्रचण्ड पत्नी सीतासंग १६ बर्ष पछी भेटे

काठमाडौं । बिद्रोहि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)की पत्नी सीता दाहाललाई भेटेर स्वास्थ्य सम्बन्धी सुझाव दिएका छन् ।

मेडिकल साइन्सका विद्यार्थी समेत रहेका प्रकाश सीतालाई भेट्न सोमबार बिहान प्रचण्डको निजी निवास खुलमटार पुगेका थिए ।

प्रकाश पुग्दा सीता समेत भावुक भएकी थिइन् । भूमिगत सशस्त्र संघर्ष (जनयुद्ध)का बेला विप्लव प्रचण्ण्डसँग निकट रहेर काम गर्थे ।
विप्लव प्रचण्डको सचिवालयमा रहेका बेला सीताले समेत प्रकाशको स्याहरमा सघाउने गर्थिन् ।

शान्ति प्रक्रियामा आएपछि तत्कालीन एकीकृत नेकपा माओवादी विभाजित हुँदा विप्लव मोहन बैद्य (किरण) नेतृत्वको नेकपा–माओवादीमा गएका थिए ।

पछि विप्लवले आफ्नो नेतृत्वमा पार्टी गठन गरेर अर्धभूमिगत राजनीति शुरु गरेका थिए ।

सीतालाई ‘आमा’ भनेर बोलाउने प्रकाशले करिब १६ वर्ष पछि भेट्न पाएको बताएका छन् ।

प्रचण्ड पत्नी सीतालाई भने सोमबार उपचारका लागि भारत लगिएको छ ।
प्रचण्ड पत्नी सीता वंशानुगत पार्किन्सन जस्तो देखिने रोगले पीडित छिन् ।

स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो । चिकित्सककै सल्लाहमा उनलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको थियो ।
यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । पछिल्लो केही समय उनी घरमा नै आराम गरिरहेकी थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?