ट्रेन्डीङ्ग

परासीबाट १२ लाख रुपैयाँ सहित दुई जना पक्राउ

परासी।भारतबाट नेपालतर्फ हुण्डी कारोबार भइरहेको भन्ने आशंकामा प्रहरीले पश्चिम नवलपरासीबाट दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी सुचना अधिकारी एव प्रहरी निरीक्षक नारायण थापाका अनुसार रामग्राम नगरपालिका-५ बाइपास क्षेत्रबाट भारतीय नम्बर प्लेट भएका दुई मोटरसाइकलमा सवार व्यक्तिहरूलाई जाँच गर्दा १२ लाख नगद फेला परेको बताए।

पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका-२ भक्सिपुरका २२ वर्षीय सुख सागर यादव र प्रतापपुर गाउँपालिका-८ पिपरपातीका ३९ वर्षीय शिवेन्द्र प्रसाद बनिया रहेका छन्। यादवले बोकेको झोलाबाट ५०० दरका १२०० थान नोट गरी ६ लाख रुपैयाँ भेटिएको थियो भने बनियाको जिन्स पाइन्टको खल्ती तथा कपडाभित्र लुकाइएका ५०० दरका २०० थान र १००० दरका ५०० थान गरी ६ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले उक्त रकमको स्रोत खुलाउन नसकेको र हुण्डी कारोबारको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। उनीहरूको साथबाट युपी ५६ एच १२०४ र युपी ५६ एच २५७३ नम्बरका दुई भारतीय मोटरसाइकल पनि बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत नवलपरासीबाट म्याद थप गरी हुण्डी कारोबार सम्बन्धी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?