ट्रेन्डीङ्ग

एमसिसी सम्झौता देशको हित विपरीत छ:कृति

माघ २६ बुटवल।एमसीसी राष्ट्रघाती सम्झौता भएको भन्दै त्यसका विरुद्ध बुटवलमा कोणसभा सम्पन्न भएको छ।

कोणसभालाई सम्बोधन गर्दैै नेकपा केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज कृतिले एमसीसी सम्झौता नेपालको हितविपरित भएको भन्दै यसलाई सिधै खारेज गर्नुपर्ने बताउनुभएको छ।उहाँले एमसीसीमार्फत् नेपाली जनतामाथि अमेरिकी बन्दुक लादिन खोजेको भन्दै आवश्यक परे यसका विरुद्ध बलिदान दिन तयार हुनुपर्ने बताउनु भएको छ।

उहाँले कांग्रेस, एमाले, माकेभित्रका दलाल र बाबुरामजस्ता दलालहरुलाई एमसीसी चाहिएको भए देश छोडी अमेरिका गएर बस्न चेतावनी दिदै पाँचतारे होटलमा बसेर एमसीसी पास गर्ने षड्यन्त्र गरिएको त्यो उनीहरुका लागी महंगो हुने बताउनुभयो ।

उहाँले देशको सीमा अतिक्रमण र महंगीको समस्या संसदीय पुँजीवादी राज्यसत्ताको समस्या भएको भन्दै यो व्यवस्था रहँदासम्म कहिल्यै समाधान नहुने बताउनुभयो । उहाँले वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्या समाधान हुने बताउनुभयो । उहाँले विश्वमा राष्ट्रियताको समाधान श्रमिक वर्गको बल र कम्युनिस्ट पार्टीको नेतृत्वमा सम्भव भएको बताउदै नेपालमा पनि यसको समाधान कम्युनिस्ट पार्टीले गर्नुपर्ने बताउनुभयो ।

 

कोणसभामा नेकपा (क्रान्तिकारी माओवादी) का लुम्बिनी प्रदेश इन्चार्ज प्रेम सुवेदीले एमसीसी सम्झौतालाई समर्थन गर्नेहरु देशभक्त नेपाली नभएको भन्दै यो सम्झौताका विरुद्ध सम्पूणर् देशभक्त नेपालीहरु एक हुनुपर्ने बताउनुभयो।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य बद्रे आलमले एमसीसी सम्झौता देशको सार्वभौमसत्ता विरुद्ध भएको भन्दै यसको खारेजीका लागी संघर्षको विकल्प नभएको बताउनुभयो।

नेकपा मालेका स्थायी समिति सदस्य गोपालमणि ज्ञवालीले नेपाली जनतालाई गठबन्धनसित कुनै सरोकार नभएको भन्दै एमसीसी खारेज गरेर देश जोगाउनुपर्ने बताउनुभयो।

नेकपा माओवादी केन्द्र समाजवादीका केन्द्रीय उपाध्यक्ष बिनोद उपाध्यायले कांग्रेस,एमाले,माके राष्ट्रघाती पार्टी भएको भन्दै देशभक्त र राष्ट्रघातीहरुको धु्रवीकरण हुनुपर्ने बताउनुभयो।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रुपन्देहीका सचिव भगवती नेपालीले एमसीसी नेपालको संविधान र कानुनभन्दा माथि भएको भन्दै यसले नेपालको सार्वभौमसत्तामाथि ठाडो हस्तक्षेप गरेको बताउनुभयो ।

कोणसभाको सञ्चालन राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष टानबहादुर केसीले गर्नुभएको थियो । कार्यक्रममा जनकलाकार सौगात सायरले एमसीसी खारेजी सम्बन्धी गीत गाउनुभएको थियो । एमसीसीविरुद्ध ८ दलीय मोर्चाले देशव्यापी केन्द्रीय कार्यक्रम अन्तर्गत बुटवलमा कोणसभा गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal