ट्रेन्डीङ्ग

एमसिसि विरुद्ध हेटौंडामा प्रदर्शन

सुर्य बहादुर गोले,माघ २६,मकवानपुर। अमेरिकी सहयोग परियोजना मेलिनियन च्यालेन्ज कर्पोरेशन (एमसिसी) विरुद्ध बागमती प्रदेशको राजधानी हेटौँडामा र्याली सहितको विरोध प्रदर्शन भएको छ। विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मकवानपुर, नेकपा (क्रान्तिकारी माओवादी) मकवानपुर, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (माले) मकवानपुर, जनता समाजवादी पार्टी मकवानपुर सहित अन्य संघसंस्था तथा मोर्चाहरुको संयुक्त आयोजनामा र्याली सहित विरोध प्रदर्शन गरिएको हो।

बुधबार भएको र्यालीमा विभिन्न पार्टीका नेताकार्यकर्ताका साथै आम सर्वसाधारण जनताको प्रत्यक्ष सहभागिता रहेको थियो। एमसिसी सम्झौताको विरुद्धमा उत्रिएका र्याली वन विज्ञान संस्थान हेटौँडाको प्राङ्गणबाट सुरु भई सीमा चोक हुँदै बुद्ध चोकमा पुगी कोणसभामा परिणत भएको थियो। र्यालीमा एमसिसी चाहिँदैन देश बेच्न पाइँदैन, एमसिसी सम्झौता खारेज गर, गो ब्याक एमसिसी लगायतका नाराहरू लगाइएका थिए।

र्याली पश्चात बुद्ध चोकमा भएको कोणसभा कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनले एमसिसी सम्झौता नेपाली जनता र राष्ट्रको अहितमा रहेको कुरा स्पष्ट पारेका छन्। त्यस्तै उनले स्वाधीन देशको स्वतन्त्र नागरिक भई बाँच्नका लागि जन्जिररूपी एमसिसी सम्झौता र पारित गर्न खोज्ने दलालहरुको विरुद्ध सडक संघर्षमा आउन आम नेपाली जनतालाई आग्रह गरेका छन्। साथै आम नेपाली जनताले नचाहँदा नचाहँदै जबर्जस्ती एमसिसी सम्झौता पारित गरिन्छ भने जनताले त्यसको सशक्त प्रतिरोध गरेरै छाड्ने उद्घोष पनि उनले गरेका छन्।

कार्यक्रममा उन्मुक्त पुस्ता मकवानपुरका लेखक पुरुषोत्तम आचार्य, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल मकवानपुरका सचिव एदु कुमार, नेकपा (क्रान्तिकारी माओवादी) मकवानपुर इन्चार्ज सागर उप्रेती लगायतले मन्तव्य राखेका थिए।

राष्ट्रघाती एमसिसी सम्झौता कुनै पनि हालतमा पारित नगराउन खबरदारी गर्दै मकवानपुरका देशभक्त, राष्ट्रप्रेमी जनता प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा बारम्बार सडक संघर्षमा उत्रिरहेका छन्।

यसरी बुद्ध चोकमा भएको कोणसभा कार्यक्रमको सञ्चालन नेकपा मकवानपुरका जिल्ला सचिवालय सदस्य तथा हेटौँडा नगर सेक्रेटरी सुर्य अर्यालले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal