
सुर्य बहादुर गोले,पुष २३,मकवानपुर। नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले आज श्रद्धाञ्जली सभाको आयोजना गरि जनसरोकार मन्च मकवानपुरका महासचिव शिव पौडेलकी ममतामयी आमा पूण्यमाता पौडेलप्रती श्रद्धाञ्जली अर्पण गरेको छ। आमा पूण्यमाताको १३ औं दिनको पूण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभा कार्यक्रममा जिल्ला सेक्रेटरी वाटरको प्रमुख आतिथ्यता रहेको थियो।
वि.सं. १९८९ जेठ १० गते जन्मेका पूण्यमाताको शारीरिक अस्वस्थताका कारण २०७८ पुस ११ गते ८९ वर्षको उमेरमा देहावसान भएको थियो। उनको असामयिक र अकल्पनीय मृत्युका कारण उनका घर परिवार, आफन्तजनका साथै पूरा पार्टी पंक्ति स्तब्ध तथा मर्माहित भएका छन्। देश विकास र परिवर्तनका लागि आवस्यक क्रान्तिकारी योद्धाको जन्म दिने आदरणीय माता पूण्यमाताको सम्झनामा आयोजित श्रद्धाञ्जली सभा कार्यक्रममा बोल्दै जिल्ला सेक्रेटरी तथा सभाका प्रमुख अतिथी वाटरले मातृशोकले स्तब्ध परिवारजनलाई ढाडस दिएका छन्। मानिस मरणशिल प्राणी भएको हुनाले ढिला चाँडो सबैले एकदिन यो धर्तिबाट विदा लिनुपर्छ। यो अकाट्य प्राकृतिक नियम हो। जसकारण आफू बाँचुन्जेल शोकलाई शक्तिमा बदल्दै केही न केहि अनुसरणीय काम गरि संसारमा राम्रो छाप छोड्नका लागि निरन्तर क्रान्तिको स्वर्णिम यात्रामा अघि बढ्न ढाडस दिँदै प्रमुख अतिथी वाटरले शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन्।
अखिल(क्रान्तिकारी)मकवानपुरका उपाध्यक्ष सुर्य बहादुर गोले (एटम)को सन्चालनमा शुक्रबार दिउँसो भएको उक्त श्रद्धाञ्जली सभा कार्यक्रमको सभाध्यक्षतामा मकवानपुरका विशेष कमिटी सदस्य बादल थिए।त्यस्तै अखिल (क्रान्तिकारी) मकवानपुरका कार्यवाहक अध्यक्ष ललित घलान र शोकाकुल परिवारजनका प्रतिनिधि तथा राष्ट्रिय जनसरोकार मन्च मकवानपुरका महासचिव शिव पौडेलको आतिथ्यता रहेको थियो।