
पुरन अधिकारी,नवलपरासी ।बैदेशिक रोजगारीले धेरैको जिवनमा गरिबीलाई चिर्दै सम्पन्नता मात्र ल्याएको छैन,सङ्ग सङ्गै सहनै नसक्ने पीडा बेदना र जिवनभरि भुल्न नसक्ने घाउ समेत दिएको छ।
आज हामी बैदेशिक रोजगारीको क्रममा आइपरेको यस्तै कहालिलाग्दो एउटा घटनाको बारेमा यहाँहरु लाई जानकारी दिने कोशिश गर्दैछौ।पश्चिम नवलपरासीको सुनवल नगरपालिका वार्ड न.१ बनाहा कि सरस्वती घिमिरे आफ्नो परिवारको राम्रो भविष्यको सपना बुन्दै करिब दस वर्षअघि वि.स.२०६८सालमा बैदेशिक रोजगारीमा जाने सोच बनाउनुभयो र सोही क्षेत्र(खकरिबारी गाउँ)को महिला एजेन्ट मार्फत भारतको बाटो हुँदै रोजगारीका लागि साउदी अरब जानुभयो ।
सरस्वती बिदेश गएको छ महिना सम्म परिवारमा न त उनको हालखबर थाहा भयो न त उनले पठाएको पैसा नै आयो।एक दिन सरस्वतीलाई बिदेश पठाउने एजेन्ट उनको घरमा आई छोरी शुशिलालाई भेटि आमाले पैसा पठाउनु हुन्छ हजुरको मोबाइल न.दिनु भन्दै मोबाइल न.र अरु आवश्यक कागजात समेत लिएर गइन।
(त्यसपछि शुरु हुन्छ यस परिवारमा एउटा कहालिलाग्दो घटना)
एजेन्टले छोरी शुशिला सङ्ग मोबाइल न. र अरु कागजात लगेको केही दिनमै काठमाण्डौ बाट उनलाई फोन आउछ हजुरको आमाको क्षयरोगका कारण साउदी अरबमा मृत्यु भएको छ र शव नेपालको एअरपोर्टमा आउदैछ शव बुझ्न आउनुहोला ।धेरै समयसम्म शव साउदी अरबमा रहेको र क्षयरोगले थलिएका कारण शव हेरेर शुशिलाले आमाको पहिचान गर्न नसकेतापनि शव सङ्गै आएको आमाको नाम र फोटो रहेको ०५९६७४१५ न.को राहदानीका कारण शव आफ्नै आमाको हो भनी परम्परागत रूपमा दाहसंस्कार समेत भयो।
तर अचम्म आमाको दाहसंस्कार गरेको ६ वर्ष पछि (करिब ३ वर्ष अगाडि)शुशिलालाई वार्ड कार्यलयमा बोलाई तपाईंको आमा सरस्वती घिमिरे साउदी अरबको रियाद स्थित मालाज सुजिन जेलमा आफ्नै मालिकको हत्या गरि ६ वर्ष देखि जेलमा रहनु भएको साउदी स्थित नेपाली राजदुतावासबाट जानकारी आएको बताउँछन् ।यो खबर पाए सङ्गै शुशिला अचम्मित हुन्छिन् किनकि करिब ६ वर्ष अगाडि साउदीबाट आएको आमाको शव बुझि दाहसंस्कार समेत भईसकेको थियो।
सम्योगवंश त्यस समयमा बैदेशिक रोजगारीका लागि शुशिलाका भाई साउदी अरबमा नै कार्यरत भएकाले शुशिलाले भाईलाई साउदी स्थित मालाज सुजिन जेलमा गई यथार्थ बुझ्न फोन मार्फत आग्रह गर्दछिन।केही दिन पश्चयात साउदीबाट भाईले दिदी शुशिलालाई आमा जेलमा नै रहेको आमाको भनाइ अनुसार आफुले काम गर्ने घरको साहुनीले परपुरुष सङ्ग लागेर अाफ्नै श्रीमानलाई चक्कु प्रहार गरि हत्या गरेको र सोही चक्कु आफुलाई समात्न लगाई बाथरुममा कैद गरि त्यहाको प्रहरीलाई फोनगरि बोलाई हत्या आरोपमा फसाएको आफु त्यसबेला भर्खर साउदी आएको हुदा भाषा समेत नजान्ने र नबुझ्ने हुदा विभिन्न कागजातमा समेत हस्ताक्षर गर्न लगाई हत्या आरोपमा जेलमा ६ वर्ष देखि कैद गरेको र आफु निर्दोष रहेको आमाले बताएको भाईले दिदी शुशिलालाई जानकारी गराए।
यो कुरा थाहा पाएपछि शुशिलाले आमाको उध्दारका लागि चारैतिर सक्दो प्रयास गरिन तर त्यो प्रयास आज सम्म ३ वर्ष भईसक्दा पनि सार्थक हुन सकेको छैन ।हिजो आज साउदी अरबको जेलबाट लुकिछिपि कहिलेकाही शुशिलालालाई आमा सरस्वतीको फोन समेत आउने शुशिलाले बताउँछिन् । आमा यतिका वर्ष जेलमा बस्दा मानसिकरूपमा विक्षिप्त भएको फोनमा हुने कुराकानीबाट प्रष्ट हुने समेत शुशिलाले बताउँछिन् कुराकानीमा आमाले कहिलेकाही यतिका वर्ष समेत मलाई फासी नभएको म निर्दोष भएकोले हो मलाई एक दिन न एक दिन जेल मुक्त गर्छ भन्छिन भने फेरि केही क्षणमै अबको केही समयपछि(२/४महिना पछि) मलाई फासी हुन्छ समेत भन्न भ्याउछिन ।
हामीले केही गरि हाम्री निर्दोष आमालाई जेलमुक्त गर्न सकेनौ भन्दै सम्बन्धित निकायमा हार गुहार गरिदिन आग्रह समेत गर्दछिन ।आशै आशामा भौतारिरहदा बैदेशिक रोजगारीमा रहेका समस्यालाई सामी परियोजनाले न्यायका लागि सहजिकरण गर्ने थाहापाई शुशिला परासी स्थित आप्रवासी स्रोतकेन्द्र मा गई सम्पूर्ण घटना विवरण बताएको र त्यहा स्थित परामर्शकर्ता रमा आलेले घटनाको विवरण पिएनसिसि मा रिफर गरेको ले साउदी अरबको कानुन बमोजिम नै केश अगाडि बढ्ने जानकारी गराए पश्चयात शुशिलाले आमाको उध्दार होलाकि भन्ने आशा राखेकी छन्।
त्यहाको कानुनी प्रक्रिया के छ साउदी अरबमा रहेको नेपाली राजदुताबासले केही सहयोग गरे आमा जेल मुक्त हुन्थिन् कि! हामीले आमा भनी दाहसंस्कार गरेको शव कस्को थियो ? हिजोआज शुशिला यस्तै कुरामा पिरोलिरहेकि छिन। एक चोटि दाहसंस्कार गरिसकेको आमाको पुन:गर्न नपरोस यहि सोचमा उनी दिन काट्दै छिन।