ट्रेन्डीङ्ग

गल्याङ नगर अस्पतालका लागि विभिन्न संस्थाबाट स्वास्थ्य सामाग्री हस्तान्तरण

जेठ २३ गल्याङ । गल्याङ नगरपालिकाका लागि विभिन्न संस्थाबाट स्वास्थ्य सामाग्री आउने क्रम बढेको छ । कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रण एवम् उपचारका लागि विभिन्न संस्थाहरुबाट सहयोग आउने क्रम बढेको हो ।

आइतबार विभिन्न तीन वटा संस्थाले नगरपालिकाको लागि स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका छन् ।
नेपाल विद्यार्थी संघले विभिन्न स्वास्थ्य सामाग्रीहरु गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीलाई हस्तान्तरण गरेको हो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै नगरप्रमुख अधिकारीले नेविसंघको कार्य उदाहरणीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो -‘पार्टी तथा भातृ संगठन बाट यस खालको सहयोग अहिले भएको थिएन । सहयोगका लागि तपाईहरु सबैलाई म हृदय देखि नै आभार व्यक्त गर्न चाहान्छु ।’ कोरोना भाइरसको महामारी नियन्त्रणका लागि अहिले सबै पक्ष एकजुट हुनुपर्ने बेला भएको भन्दै उहाँले अन्य विषयमा असन्तुष्टी भए पनि महामारीको मिलेर सामना गर्नुपर्ने बताउनुभयो ।
निशुल्क पाइने औषधीको शुल्क नलिएको र विपन्नका लागि पुर्ण मिनाहा गरिएको नगरप्रमुख अधिकारीको भनाई

नगरप्रमुख अधिकारीले भन्नुभयो -‘कामका विभिन्न विषयमा फरक मत हुन सक्छन् तर विपदको यो बेलामा तपाईहरु एकजुट हुनु भएको छ, यसले महामारी नियन्त्रणका लागि महत्त्वपूर्ण भूमिका हुन सक्छ ।’ उहाँले महामारी नियन्त्रणको क्रममा कुनै सुझाब भएमा सकारात्मक ढंगले सुझाब दिन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा नेविसंघ केन्द्रीय महामन्त्री युवराज पाण्डेले महामारीको मिलेर सामना गर्नुपर्ने मान्यताका साथ आफुहरुले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको बताउनुभयो । उहाँले महामारीले कुनै पार्टी र जाति विशेष नभन्ने भन्दै सबै मिलेमा महामारीलाई परास्त गर्न सकिने बताउनुभयो ।


कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, नेपाली काङ्ग्रेस महासमिति सदस्य श्यामप्रसाद बस्याल, नेविसंघ केन्द्रीय सदस्य गुरुप्रसाद भट्टराई, वडा नम्बर ३ का अध्यक्ष महेश भट्टराई, महाधिबेशन प्रतिनिधि महेन्द्र श्रेष्ठ, तरुण दल जिल्ला सचिव चन्द्र राना, उद्योग वाणिज्य संघका महासचिव कृष्ण भट्टराई, नेविसंघ पाल्पाका नेता सुवाश गैरे लगायतको उपस्थिति रहेको थियो । नेविसंघ महामन्त्री युवराज पौडेल र केन्द्रीय सदस्य गुरुप्रसाद भट्टराईको पहलमा तीन वटा अक्सिमिटर, सात वटा पिपिई, तीन वटा डिजिटल थर्मोमिटर, १५ वटा फेश सिल, माक्स, पञ्जा, भिटामिन सहितका औषधीहरु हस्तान्तरण गरिएको हो । नेविसंघ केन्द्रीय महामन्त्री युवराज पाण्डे तथा पूर्व केन्द्रीय सदस्य गुरुप्रसाद भट्टराईको पहलमा उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको बताइएको छ ।

यस्तै, स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले पनि गल्याङ नगरपालिकाको लागि अक्सिजन सहितका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

नगरपालिकामा गरिएको एक कार्यक्रममा समाजले तीन वटा अक्सिजन तथा दश वटा अक्सिमिटर सहितका सामाग्रीहरु हस्तान्तरण गरेको हो ।
सामाग्रीहरु ग्रहण गर्दै नगरप्रमुख भुपराज अधिकारीले स्याङ्जा सहयोग समाजको यो सहयोगका लागि आभार व्यक्त गर्दै भविश्यमा पनि संस्थासँग सहकार्य गर्दै जाने प्रतिबद्वता जनाउनुभयो ।

उहाँले स्वदेश तथा विदेशमा रहेका यस्तै संस्थाहरुको सहयोगले विरामीको उपचारमा सहजता हुँदै गएको बताउनुभयो । नगरप्रमुख अधिकारीले गल्याङ नगरपालिकाद्वारा गल्याङ नगर अस्पतालमा विपन्न परिवारका लागि निशुल्क उपचारको व्यवस्था गरिएको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो -‘विपन्न परिवारको घरमा नै पुगेर विरामी ल्याई अस्पतालमा निशुल्क उपचारको व्यवस्था मिलाइएको छ । अन्य नागरिकहरुबाट किन्नु पर्ने औषधीहरुको रकम मात्रै लिने गरिएको छ ।’
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले वडाबाट विपन्न परिवारको सिफारिस ल्याएमा अस्पतालले निशुल्क सेवा दिइरहेको बताउनुभयो । उहाँले अस्पतालबाट खरिद गर्नुपर्ने औषधीको रकम मात्रै अन्य विरामीका परिवारसँग लिने गरेको पनि स्पष्ट पार्नुभयो ।
कार्यक्रममा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका पदाधीकारीहरुको उपस्थिति रहेको थियो ।

यसै गरी आइतबार नै ‘सेवाका लागि युवा’ कास्कीको तर्फबाट पनि स्वास्थ्य सामाग्री सहयोग भएको छ । गल्याङ नगरपालिकाद्वारा सञ्चालित गल्याङ नगर अस्पतालका लागि ‘सेवाका लागि युवा’ कास्कीको तर्फबाट दुई वटा अक्सिजन कन्सन्टेटर, पिपिई सहितका स्वास्थ्य सामाग्री हस्तान्तरण भएको हो । नगर अस्पताल प्राङ्गणमा भएको कार्यक्रममा सहयोग सामाग्री ग्रहण गर्दै अस्पतालका प्रमुख प्रशासक थानापति न्यौपानेले युवाहरुको संस्थाबाट अनुकरणीय कार्य भएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो ।


संस्थाका अध्यक्ष अशिलकुमार शाहीले सकारात्मक सन्देश दिलाउनका लागि युवाहरुले काम गरिरहेको बताउनुभयो । संस्थाका सचिव चक्र बस्यालको पहलमा गल्याङ नगर अस्पतालका लागि उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको बताइएको छ ।
यसैवीच, गल्याङ नगर कार्यपालिकाको आइतबार बसेको बैठकले अस्पतालमा आउने कोरोना भाइरस कोभिड १९ का विरामीका लागि विपन्न परिवारको शुल्क नलिने निणर्य गरेको छ । वडा कार्यालयको सिफारिसमा विपन्न परिवारका लागि कुनै शुल्क नलिने निणर्य गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?