ट्रेन्डीङ्ग

स्थानीय तह सर्भेयर्स सोसाइटी गठन, लुम्बिनी संयोजकमा ओली

सुनवल।नेपालमा पहिलोपटक स्थानीय तहका नापी प्राविधिकहरूले साझा संगठन स्थानीय तह सर्भेयर्स सोसाइटी गठन गरेका छन्। देशभरका स्थानीयतहमा कार्यरत नापी प्राविधिकहरू जोड्ने गरि पेसागत ऐक्यबद्धता र आधुनिक नापी प्रणालीमा प्रतिबद्धता मूल नाराका साथ गठन गरिएको हो।

शनिबार जुम मिटिङमार्फत भरतपुर महानगरपालिकाका नापी अधिकृत विकास देवकोटाको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय समिति गठन गरिएको हो।सातवटै प्रदेशका संयोजकसहित चारजना मनोनीत सदस्य रहने व्यवस्था गरिएको छ।

लुम्बिनी प्रदेशको संयोजकमा सुनवल नगरपालिकामा कार्यरत नापी सर्भेक्षक दलबहादुर ओलीलाई जिम्मेवारी दिइएको छ।संयोजक ओलीले लुम्बिनी प्रदेशका १२ जिल्ला र १०९ स्थानीय तहमध्ये अझै सबै तहमा नापी प्राविधिक नहुँदा पहिलो चरणमा जिल्ला संरचना विस्तारको तयारी भइरहेको बताए।उनका अनुसार सोसाइटीले नापी पेशालाई प्रविधिमैत्री, पारदर्शी र सशक्त बनाउन काम गर्नेछ।

ओलीले भने, “स्थानीय नापी प्राविधिकहरू केवल नक्सा नाप्ने मात्र होइनन्, उनीहरू स्थानीय विकासको दिशा निर्धारण गर्ने आधारशिला हुन।”नापी प्रणालीलाई डिजिटल रूपान्तरण, जीपीएस जीआईएस प्रविधि प्रयोग, डिजिटल नापी प्रणाली विकास, र स्थायी नापी शाखा स्थापना जस्ता विषयलाई प्राथमिकतामा राख्ने ओलीले बताए।

पारदर्शी, प्रविधिमैत्री र सटीक नापी प्रणालीले मात्र स्थानीय शासनलाई दिगो, विश्वसनीय र परिणाममुखी बनाउन सक्छ त्यसैले नापी प्राविधिकहरूको हकहित संरक्षण र क्षमता अभिवृद्धि अबको प्रमुख कार्य हुने ओलीको भनाई छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?