ट्रेन्डीङ्ग

रामग्राममा विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

परासी।रामग्राम नगरपालिकाले शिक्षण–सिकाइमा आधुनिक प्रविधिको प्रयोग बढाउन विद्यालयहरूलाई स्मार्ट बोर्ड उपलब्ध गराएको छ।नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख धनपत यादवले इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड विद्यालयका प्रधानाध्यापकहरूलाई हस्तान्तरण गरेका हुन।

नगरपालिकाको माध्यमिक तहका विद्यालयहरूलाई ७ लाख ६३ हजार रुपैयाँको लागतमा सातवटा स्मार्ट बोर्ड वितरण गरिएको नगर शिक्षा शाखाले जनाएको छ। उक्त बोर्डमा लेखिएका विषयवस्तु सेभ गर्न सकिने, मल्टिमिडिया र विभिन्न एप प्रयोग गर्न सकिने, साथै अन्य विद्यालयसँग जोडेर सहपाठन गर्न सकिने जस्ता सुविधाहरू रहेका छन।

प्रविधिमैत्री उपकरण प्रयोगमा ल्याउँदा विद्यार्थीले बुझ्न र शिक्षकले पढाउन थप सहज हुने अपेक्षा गरिएको”नगरपालिकाका प्रशासकिय अधिकृत खेमराज ढकालले बताए।

कार्यक्रममा शैक्षिक सुधारमा नगरपालिकाले कुनै कसर बाँकी नराखेको उल्लेख गर्दै विद्यालय तहका शिक्षकहरूले पनि त्यही प्रतिबद्धता देखाउनुपर्ने नगर प्रमुख धनपत यादवले बताए।

नगर प्रमुख यादवले जनप्रतिनिधिको हैसियतले शिक्षामा सुधारका लागि अनेक चुनौती व्यहोरेको उल्लेख गर्दै शिक्षण-सिकाइ गुणस्तर उकास्न विद्यालयका प्रधानाध्यापकहरूलाई सक्रिय भूमिका खेल्न निर्देशन दिए।

प्रविधिको युगमा शिक्षकहरू पनि प्रविधिसँगै अघि बढ्नुपर्ने बताउँदै यादवले नगरपालिकाले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा सरस्वती माध्यमिक विद्यालय, रामग्राम–१२ का प्रधानाध्यापक दयानन्द चौधरीले प्रविधिको प्रयोगले शिक्षण-सिकाइलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै सबै विद्यालयमा प्राविधिक ज्ञानसहितका शिक्षकको आवश्यकता रहेकोमा जोड दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?