
परासी।मंगलबारदेखि परेको बर्षाका कारण नारायणी नदीमा आएको बाढीले पश्चिम नवलपरासीको सुस्तामा १५ घर जलमग्न भएको छ । सुस्ता गाउँपालिका-५ को थारू टोलमा नारायणी नदीको पानी पसेको हो ।
पानी पसेको स्थानमा अहिले डोजरमार्फत थुन्ने काम भइरहेको र बस्ती विस्थापित हुनुपर्ने गरेर बाढी नपसेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तले बताए।
तीनतर्फबाट नारायणी नदी र एकतर्फ भारतीय भूभागले घेरिएको यो बस्तीमा नारायणी नदीमा बाढी आएपछि हरेक वर्ष जलमग्न हुने गरेको छ । नदीमा पानीको सतह घट्दो क्रममा रहेकाले जोखिम कम हुँदै गएको स्थानीय मुन्सी कुमारले जानकारी दिए।
बस्तीमा पानी पस्ने जोखिम बढेपछि सुस्ताबासी आफैं बाँध बाध्नका लागि कस्सिएका थिए । मंगलबारदेखि परेको वर्षाको कारण नारायणी नदीमा बाढी आएको हो । बाढीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ को सुस्ता बस्ती नजिकै कटान गरेको छ ।