ट्रेन्डीङ्ग

स्थानीय उत्पादनलाई प्राथमिकता दिई बजार व्यवस्थित गर्न किसानको माग

परासी।केरा बोटमै पाकेर खेर जान थालेपछि पश्चिम नवलपरासीका किसानहरूले बजार व्यवस्थापनको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन।जिल्लाका किसानहरूले स्थानीय उत्पादनलाई प्राथमिकता दिन र बजार व्यवस्थित गर्न सरकारसँग माग गरेका हुन।

 

भारतबाट हुने वैध तथा अवैध केरा आयातकै कारण बजार अस्तव्यस्त भएको किसानहरूको दाबी छ। समयमै मल, बीउ र विषादी नपाउँदा नेपाली उत्पादन प्रतिस्पर्धा गर्न नसकेको किसानहरूले बताएका छन।पछिल्लो १५ दिनदेखि विक्रीमा समस्या चुलिँदा आन्दोलनमा जानुपर्ने अवस्था आएको केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष लख्खु यादवले बताए।

 

यसैबीच, प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले विज्ञप्ति जारी गर्दै नेपाल-भारत सीमा नाकामा तत्काल कडाइ गर्न र कम्तीमा तीन महिनासम्म केरा आयात रोक्न आग्रह गरेका छन्। उनले अवैध पैठारी नियन्त्रण र स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीतिगत व्यवस्था गर्नुपर्नेमा अध्यक्षले जोड दिएका छन्।

 

नेपालमै उत्पादन भएको प्रशस्त केरा बजारमा खपत हुन नसक्दा किसानको श्रम खेर गइरहेको छ भने ग्रामीण अर्थतन्त्र, युवा रोजगारी र खाद्य सुरक्षामा समेत प्रत्यक्ष असर परेको अध्यक्ष यादवको भनाई छ।

 

जिल्लाको प्रतापपुर , सुस्ता, र सरावल गाउँपालिकाका करिब ३ हजार ७ सय किसानले २ हजार १ सय बिघा क्षेत्रमा खेती गर्दै आएका छन् भने १ लाख ४० हजार मेट्रिक टन उत्पादनमध्ये दैनिक ५ सय ७७ मेट्रिक टन बिक्री हुनुपर्नेमा १ सय ३२ मेट्रिक टन मात्र बिक्री भएको संघले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?