
भुमही।पश्चिम नवलपरासीको सुनवल -१२ भुमहीमा डेंगी गराउने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान” कार्यक्रम गरिएको छ।
रामनगर बजार विकास संस्था र सुनवल नगरपालिका वडा -१२ भुमहीको संयुक्त आयोजनामा,सुनवल नगरपालिकाको समन्वय तथा फायर मेड र इन्द्रेणी सामाजिक विकास मञ्च नवलपरासीको सहयोगमा “डेंगी गराउने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान” कार्यक्रम गरिएको हो।
लामखुट्टेको बासस्थान खोजी गरि लार्भा नष्ट अभियान आजदेखि असोजसम्म निरन्तर अभियान सन्चालन गरिने रामनगर स्वास्थ्य चौकि प्रमुख मानबहादुर बिकले जानकारी दिए।
देशभर डेंगी संक्रमण तीव्र रुपमा फैलिरहेको अवस्थामा स्वास्थ्यकर्मीहरूले यसको प्रारम्भिक लक्षणहरू पहिचान गरी समयमै उपचार गर्न सर्वसाधारणलाई स्वास्थ्यकर्मिले सचेत गराएका थिए।
कार्यक्रममा कार्यक्रमका सुनवल नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष चुरामणि पौडेल रामनगर बजार बिकास संस्थाका अध्यक्ष युवराज भुसाल, स्वास्थ्य अधिकृत चुरामणि नेपाल, स्वास्थ्यकर्मीहरू, इन्द्रेणी सामाजिक विकास मञ्चका बसन्त सापकोटा, बजार विकास संस्थाका कार्यसमिति सदस्यहरू, स्वास्थ्य स्वयंसेविकाहरु, विभिन्न क्षेत्रका सामाजिक अगुवाहरूको उपस्थिति रहेको थियो।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार डेंगी संक्रमितलाई प्रायः अचानक उच्च ज्वरो, टाउको दुखाइ, आँखा पछाडि पीडा, मांसपेशी तथा जोर्नीमा अत्यधिक दुखाइ, छालामा रातो दाग वा र्यास, अत्यधिक थकान, साथै मतली वा वाकवाकी जस्ता लक्षण देखिने गर्छ। यी लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ।
यस्तै, डेंगी गम्भीर अवस्थामा पुगेमा लगातार वाकवाकी वा रगतसहित वान्ता, पेट दुख्ने वा सुन्निने, नाक र मसुडाबाट रगत आउने, रगतयुक्त दिसा हुने, अत्यधिक थकान र बेचैनी, साथै रक्तचाप घट्ने जस्ता अवस्था देखा पर्न सक्ने भएकाले सावधानी अपनाउन विज्ञहरूले भनाइ छ ।