
परासी।पश्चिम नवलपरासीमा रासायनिक मलको अभाव भएको भन्दै सङ्घीय लोकतान्त्रिक मोर्चामा आबद्ध दलहरूले बिहीबार सदरमुकाममा विरोध प्रदर्शन र धर्ना गरेका छन।
लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति, जनता समाजवादी, जनता प्रगतिशीललगायत दलका नेता-कार्यकर्ताले जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिँदै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण गराए।
धान गोड्ने र मल हाल्ने मुख्य समयमा पर्याप्त मल नपाएको तथा वितरणमा विभेद भएको भन्दै किसानलाई क्षतिपूर्ति दिन माग गरिएको जनता समाजवादी नेपाल पश्चिम नवलपरासीका अध्यक्ष धरेन्द्र यादवले बताए।
कृषि सामग्री कम्पनी लिमिटेड परासीका अनुसार, जिल्लामा वार्षिक १८ हजार मेट्रिक टन युरिया र १२ हजार मेट्रिक टन डीएपी आवश्यक पर्छ, तर हाल करिब आठ हजार मेट्रिक टन मात्र आपूर्ति भइरहेको छ। मल अभावका कारण धेरै किसान खेतीमा मलखाद हाल्नबाट वञ्चित भएका छन।